काठमाडौं । बंगलादेश सरकारले नेपालबाट ४० मेगावाट विद्युत् खरिद गर्ने भएको छ । मंगलबार बसेको सरकारी खरिदसम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीजीपी) बैठकले नेपालबाट ४० मेगावाट विद्युत लैजाने निर्णय स्वीकृत गरेको छ ।
स्थानीय सञ्चारमाध्यामका अनुसार समितिले स्वीकृत गरेको १५ प्रस्तावमा नेपालबाट विद्युत् आयात गर्ने प्रस्ताव पनि समावेश छ । बंगलादेशको राष्ट्रिय समाचार एजेन्सीका अनुसार अर्थमन्त्री अबुल हसन मोहम्मद अलीको अध्यक्षतामा बसेको बैठकले ४० मेगावाट विद्युत खरिदको निर्णय गरेको हो ।

बैठकपछि पत्रकारलाई जानकारी दिँदै भारतीय मार्गबाट नेपालको ४० मेगावाट विद्युत खरिद सम्झौता भएको क्याबिनेट सचिव महमुदुल हुसेन खानले जानकारी दिए । ‘ऊर्जा विभागको प्रस्तावअनुसार बंगलादेश पावर डेभपलमेन्ट बोर्डले ५ वर्षको लागि ४० मेगावाट विद्युत् खरिद गर्नेछ’, सचिव खानले भनेका छन्, ‘विद्युत् खरिद नेपाल विद्युत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीचको त्रिपक्षीय सम्झौताअनुसार हुनेछ ।’
उनका अनुसार बंगलादेशले नेपालबाट ८.१७ टाका अर्थात् नेपाली रुपैयाँ ९ रुपैयाँ १२ पैसामा खरिद गर्नेछ । अहिलेको विनिमय दर अनुसार बंगलादेशले ५ वर्षमा ७ अर्ब ३९ करोड रुपैयाँको विद्युत् खरिद गर्ने भएको छ ।
बंगलादेशको ऊर्जा सचिवस्तरीय बैठक असार ९ र १० गते नेपालमा हुँदै छ । उक्त बैठकमा २ पक्षीय सम्झौता हुने नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । त्यसपछि नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता हुनेछ ।














