Logo
Logo

असार महिनाका लागि विभिन्न बैङ्कद्वारा नयाँ ब्याजदर कायम


504
Shares

काठमाडौं । अधिकांश बैङ्कहरूले असार महिनाका लागि ब्याजदर घटाएका छन् । अधिकांश वाणिज्य बैङ्कहरूले शुक्रवार नयाँ ब्याजदर सार्वजनिक गरेका थिए ।

बैङ्कहरूले औसत ब्याजदर ६.८६ प्रतिशत कायम छ । जेठ महिनामा वाणिज्य बैङ्कहरूको मुद्दती निक्षेपमा औसत ब्याजदर ६.९९ प्रतिशत थियो ।

असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार ११ बैङ्कले निक्षेप ब्याजदर घटाएका छन् । नबिल बैंक, हिमालयन बैंक र माछापुच्छ्रे बैङ्कले भने ब्याजदर बढाएका छन् । प्रभु बैंक, कुषि विकास बैंक, नेपाल बैंक, सिद्धार्थ बैंक र स्टान्डर्ड चार्टर्ड र एनआइएमबीले ब्याजदर यथावत् राखेका छन् ।

हिमालयन बैङ्कले जेठको तुलनामा असारमा व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर बढाएर ८.२५ प्रतिशत बनाएको छ । यो नै असार महिनाका लागि बैङ्कहरूले व्यक्तिगत मुद्दती निक्षेपमा दिने सर्वाधिक ब्याजदर हो ।

बैङ्कहरूको साउन महिनादेखि ब्याजदर सम्बन्धी भद्र सहमति भएको थियो । तर, आवश्यकता अनुसार ब्याजदर घटाउने वा बढाउन पाउने व्यवस्था बैङ्कहरूको छ । नेपाल राष्ट्र बैङ्कले गरेको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरूलाई हरेक महिनाको मसान्त भित्रै आगामी महिनाको ब्याजदर सार्वजनिक गर्नुपर्ने हुन्छ । बैङ्कहरूलाई प्रत्येक महिना नयाँ ब्याजदर तोक्दा अघिल्लो महिनाको ब्याजदरमा १० प्रतिशतसम्म बढाउन वा घटाउन मिल्ने सुविधा छ ।

अहिले व्यक्तिगत मुद्धतिको भन्दा संस्थागत मुद्धतिमा एक प्रतिशतले मात्रै कम ब्याज दिन पाइने व्यवस्था छ । राष्ट्र बैङ्कले मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा मार्फत संस्थागत निक्षेप कर्ताहरूलाई २ प्रतिशत कम ब्याज दिनुपर्ने पुरानो व्यवस्थाको सट्टा १ प्रतिशत मात्रै कम ब्याजदर दिन पाउने सुविधा दिएको थियो । यसले बिमा कम्पनीहरूलाई फाइदा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्