Logo
Logo

बजेट निर्माण प्रक्रियामा नीतिगत र संरचनागत परिवर्तन आवश्यक : सांसद भट्टराई


189
Shares

काठमाडौँ । नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले बजेट निर्माणको प्रक्रियामा निकै ठूलो नीतिगत र संरचनागत परिवर्तन आवश्यक भएकामा जोड दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले रु तीन करोडमाथिका मात्रै आयोजनालाई बजेटमा राख्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिबद्धता विपरीत सानासाना आयोजना राखेर बजेट पुस्तिकाको पाना भराइएकामा असन्तुष्टि व्यक्त गरे ।

पुँजीगत खर्च कम र वित्तीय खर्च धेरै भइरहेको अवस्थालाई सुधार ल्याउन आग्रह गर्दै सांसद भट्टराईले बजेट निर्माणका लागि ‘प्रोजेक्ट बैंक’लाई पालना नगरी ‘पकेट बैंक’लाई आधार बनाइएको टिप्पणी गर्दै सानातिना रकम आफ्नो निर्वाचन क्षेत्रमा लगेर चुनाव जितिन्छ भन्ने भ्रम त्याग्न आग्रह गरे ।

भन्सारमा अग्रिम कर लिने विषय राज्यको आम्दानी वृद्धि हुने हिसाबले ठिकै भए पनि यसले उपभोक्तालाई मारमा पार्ने उल्लेख गर्दै उनले बजेट निर्माणमा बहुपक्षीय र बहुआयामिक छलफल नभएकामा सरकारको ध्यानाकर्षण गराए ।

सांसद भट्टराईले ऊर्जा क्षेत्रलाई नेपालको समृद्धिको आधार बनाइएका सन्दर्भमा भारत र बङ्गलादेशलाई बिजुली बेच्ने तयारी हुनु सकारात्मक भएकाले लगानीका हिसाबले सहज हुने तमोर जलाशययुक्त आयोजनालाई अघि बढाउन सरकारसँग आग्रह गरे । उक्त आयोजना ताप्लेजुङ, पाँचथर र धनकुटा जिल्लामा पर्छ ।

प्रतिक्रिया दिनुहोस्