काठमाडौं । आजका प्रमुख समाचारमा राजनीति, कूटनीति, अर्थतन्त्र, सुशासन, विपद् व्यवस्थापन र खेलकुदका विविध विषय समेटिएका छन् । दृष्टि साप्ताहिकले ४३ वर्षको यात्रा पूरा गरी ४४औँ वर्षमा प्रवेश गर्दा बदलिँदो समय र प्रविधिसँगै पत्रकारितालाई पनि नयाँ आयाममा विस्तार गरिरहेको छ । यसैबीच प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण, दुई देशबीचका उपलब्धि र अनुत्तरित राष्ट्रिय मुद्दा, कांग्रेसभित्रको विवाद, श्रमिक ठगी, विपद् राहत र विकास आयोजनाका बेथितिदेखि खेलकुदका गतिविधिसम्म आजका प्रमुख समाचारमा समेटिएका छन् । अब हेरौँ, आजका प्रमुख समाचार ।
१. दृष्टि साप्ताहिक ४३ वर्षको गौरवपूर्ण यात्रा पूरा गरी ४४औँ वर्षमा प्रवेश, समय र प्रविधिको परिवर्तनसँगै छापा पत्रकारिताबाट अनलाइन र मल्टिमिडियासम्म विस्तार ।
२. उपलब्धिका सूचीमा अटाएको बालेनको भारत भ्रमणले राष्ट्रिय मुद्दामा देखाउन सकेन कूटनीतिक परिणाम, विकास आयोजना, आर्थिक सहायता र हवाई मार्गमा नयाँ समझदारी, तर कालापानी–लिपुलेक, ईपीजी र सीमा विवादमा प्रगति शून्य ।
३. बालेनको पहिलो विदेश भ्रमणले दिल्ली–काठमाडौं सम्बन्धमा नयाँ ऊर्जा थपेको भारतीय विश्लेषण, सीमा विवाद र पुराना असमझदारी कायमै रहे पनि नयाँ नेतृत्वसँग विश्वासको सम्बन्ध बनाउनुपर्नेमा जोड ।
४. भारतबाट प्राप्त १८४ अर्ब ऋण आयोजना र निर्माण प्रगतिको आवश्यकताअनुसार उपयोग गरिने अर्थमन्त्रीको स्पष्टोक्ति, ऋणको ब्याजदर, अवधि र ग्रेस पिरियडबारे प्राविधिक वार्ता हुन बाँकी ।
५. देउवा समूहका नेता–कार्यकर्तालाई पार्टी विधान विपरीत गतिविधि नगर्न गगन थापाको चेतावनी, कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर अर्को पार्टीमा लागे कारबाही गर्ने स्पष्टोक्ति ।
६. स्थानीय तहको निर्वाचनमा हुरीबतास सम्भव नभएको प्रचण्डको भनाइ, संघीय निर्वाचनमा जस्तो जसलाई मतदान गरे पनि हुने अवस्था स्थानीय तहमा नरहेको दाबी ।
७. मलेसिया जाने कामदारसँग स्वास्थ्य परीक्षणका नाममा ठगीको आरोपमा दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति, चारपटक मन्त्रीस्तरीय निर्णयबाट रकम मलेसिया पठाइएको खुलासा ।
८. विपद्मा बेपत्ताका हकदारलाई मृतकसरह राहत दिन सबै जिल्ला प्रशासन कार्यालयलाई गृहको परिपत्र, बेपत्ता व्यक्ति १० दिनसम्म फेला नपरे परिवारलाई राहत उपलब्ध गराउने निर्णय ।
९. नौ दल सम्मिलित अग्रगामी मोर्चाको आन्दोलन घोषणा कार्यक्रम स्थगित, स्थान र मिति तय गर्न मङ्सिर १५ गते मोर्चाको बैठक बस्ने ।
१०. नेपालमै विकसित सेल ब्रोडकास्टिङ प्रणालीको पहिलो चरणको प्राविधिक परीक्षण सफल, विपद्का बेला निश्चित भौगोलिक क्षेत्रका मोबाइलमा एकैपटक आपतकालीन पूर्वसूचना पठाउन सकिने ।
११. लुम्बिनी विकास कोषको उपाध्यक्ष आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता, नियुक्तिको कानुनी वैधता परीक्षण तथा विधिको शासन र कानुनी प्रक्रियाको सुनिश्चितता गर्न माग ।
१२. भारतको अयोध्याबाट छुटेको रेल जनकपुरधाम आइपुग्यो, हप्तामा एक दिन व्यावसायिक रूपमा सञ्चालन हुने गरी रेल सेवाको व्यावसायिक सञ्चालन गर्ने तयारी ।
१३. सुनकोशी–मरिण डाइभर्सन आयोजनामा भएको ढिलाइबारे सार्वजनिक लेखा समितिले माग्यो जवाफ, आयोजनाको ठेक्का रद्द प्रक्रियाका सम्पूण कागजात सात दिनभित्र बुझाउन निर्देशन ।
१४. वेश्यावृत्ति शब्दको सट्टा उपयुक्त विकल्प खोज्नुपर्ने विषयमा संसदीय समितिमा बहस, शब्द परिवर्तन गर्दा कानुनी प्रभाव र पीडितलाई पर्न सक्ने असरबारे सचेत रहनुपर्नेमा जोड ।
१५. एसईई आवेदन फाराम भर्ने म्याद १५ दिन थप, दसैँ, तिहार तथा छठ पर्वको बिदाका कारण आवेदन फाराम भर्ने समय अपुग भएपछि विद्यालयहरूको माग बमोजिम म्याद थप ।
१६. युरोपमा रोजगारीको सपना देखाएर लाखौँ असुल्ने म्यानपावरको प्रतिबद्धता रोमानिया पुगेपछि अलपत्र, महिनामा दुई–तीन दिन मात्रै काम पाउने र आवास खर्चका नाममा तलब काटिने गरेपछि ६०० नेपाली श्रमिक आन्दोलित ।
१७. एनपीएललाई छैटौँ संस्करणदेखि ‘होम एण्ड अवे’ ढाँचामा सञ्चालन गर्ने तयारी, आफ्नै घरेलु मैदान र फ्लडलाइटसहितका रंगशाला निर्माणबारे आठवटै फ्रेन्चाइज टोली र खेलकुदमन्त्रीबीच छलफल ।
१८. लामो समयको प्रतीक्षापछि कर्णालीमा १०औँ राष्ट्रिय खेलकुद आजदेखि शुरु, औपचारिक उद्घाटन भने १६ गते गरिने ।
१९. एनपीएलबाहेकका प्रतियोगिताको टिकट बिक्रीका लागि क्यानद्वारा बोलपत्र आह्वान, इच्छुक कम्पनीले १० हजार दस्तुर तिरेर नोभेम्बर ३० सम्म फारम लिन सक्ने ।
२०. र, बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना डिसेम्बर १६मा स्वदेश फर्किने घोषणा, मानवताविरुद्धको अपराधमा मृत्युदण्ड सुनाइएकी हसिनाको स्वदेश फिर्ती राजनीतिक र कानुनी रूपमा चुनौतीपूर्ण ।


















