Logo
Logo

संघर्षमा बितेको चार दशक


0
Shares

‘दृष्टि’ साप्ताहिकको प्रकाशन सुरु भएको चार दशक नाघ्यो । ४४ वर्षअघि लेटर प्रेसमा छापिने ‘दृष्टि’ अफसेट प्रेस हुँदै डिजिटल युगमा प्रवेश गरेको छ । हामीले छापा संस्करणलाई परिमार्जन गर्दै केही वर्षदेखि अनलाइन संस्करण र मल्टीमिडियाको माध्यमबाट पाठकसमक्ष उपस्थित भएका छौँ ।

समाज परिवर्तनको गति अत्यन्तै तीव्र रूपमा अगाडि बढिरहेको छ । सूचना प्रविधिको विकास र विस्तारसँगै हरेक सचेत नागरिकको प्राथमिकतामा सूचना पर्ने गरेको छ । सामाजिक सञ्जालको प्रयोग र विस्तारले नागरिकलाई सूचनाको भोक जगाइदिएको छ ।

मुलुकको राजनीतिक, आर्थिक र सामाजिक विकासका लागि सूचना महत्वपूर्ण पक्ष हो । यो तथ्यलाई आत्मसात् गर्दै दृष्टि साप्ताहिक हिजो छापा माध्यमका रूपमा जसरी सत्य, तथ्यमा आधारित समाचार विचारको संगमको रूपमा स्थापित भएको थियो, त्यसैगरी डिजिटल युगमा पनि सक्रिय रहने प्रतिबद्धता दोहो¥याउन चाहन्छौँ ।

‘दृष्टि’ कति प्रति छापिन्छ अथवा यसको अनलाइन ‘ससक्राइबर’ कति छ भन्ने गणितीय कुराले मात्रै हाम्रो पहिचान स्थापित गरेको होइन । हिजो निरंकुश पञ्चायतका विरुद्ध राजनीतिक स्वतन्त्रताको अन्दोलनमा ‘दृष्टि’ ले प्रजातन्त्र स्थापनाका लागि मिशन पत्रकारितामार्फत पु¥याएको योगदानलाई स्मरण गर्नुपर्छ । आज पनि राजनीतिलाई केन्द्रमा राखेर हामी विचार, विश्लेषणमार्फत लोकतन्त्रको संस्थागत विकासका लागि जनमत निर्माण गर्ने काममा समर्पित छौँ ।

निश्चय पनि प्रविधिको विकासले छापा पत्रकारितालाई केही ओझेलमा पारेको छ । र, अनलाइन पत्रकारिताको विस्तार भएको छ । अघिल्लो दिनको समाचार सामग्री भोलिपल्ट पढ्नुपर्ने बाध्यता हटेको छ । मिनेट–मिनेट, सेकेन्ड–सेकेन्डमा मोबाइलमै सूचना फटाफट आउने हुँदा सामाजिक सञ्जालप्रति आकर्षण पनि बढ्दो छ । सूचना प्रवाहको हिसाबले यो जति सकारात्मक कुरा हो, त्यति नकारात्मक पनि हो ।

बिनापुष्टि हावाको भरमा सामाजिक सञ्जालमा आउने सामग्रीले समाज बिथोलेको छ । सामाजिक सञ्जालको दुरुपयोगले धेरै पीडित बनेका छन् । आज जनमत निर्माण गर्ने भूमिकामा सामाजिक सञ्जालको महत्वपूर्ण स्थान छ । सामाजिक सञ्जालकै कारण जेनजी विद्रोह भयो । तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध नलगाएको भए सायद यति चाँडै यो अवस्था आउने थिएन ।

नेपालमा आजसम्म जे–जति राजनीतिक परिवर्तन भएका छन्, त्यसमा नेपाली छापा पत्रकारिताको ठूलो भूमिका छ । ‘दृष्टि’को ४४ वर्षे यात्रा त्यसैको निरन्तरता हो । यो ४४ वर्षमा जे–जति राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनहरू भए ‘दृष्टि’ त्यसको साक्षीमात्र होइन, संवाहक पनि हो । ३० वर्षे पञ्चायती निरंकुश व्यवस्थामा आजजस्तो पत्रकारिता गर्न सहज थिएन । तैपनि पञ्चायती निरंकुशताका विरुद्ध संघर्ष गर्दै २०४६ सालको संयुक्त जनआन्दोलन सफल पार्नु र त्यसपछिका हरेक आन्दोलनलाई सहयोग पु¥याउनु ‘दृष्टि’को प्रमुख उद्देश्य थियो ।

त्यही जगमा आज लोकतान्त्रिक व्यवस्था उभिएको छ र लोकतान्त्रिक माध्यमबाट देश संघीय लोकतान्त्रिक गणतन्त्रको यात्रामा छ । तैपनि आमनागरिकका सपना अधुरै छन् । लोकतन्त्रको माध्यमबाट नेपालभन्दा धेरै पछाडि परेका देशहरू आज समृद्ध बनेका छन् । तर, नेपाल भने अझै गरिबीको रेखामुनि बाँच्नुपरेको छ । राजनीतिक परिवर्तनसँगसँगै आर्थिक परिवर्तन भएन भने त्यसले समस्या समाधान गर्न सक्दैन ।

सरकारमा नयाँ अनुहार आएका छन् । आम युवाहरूमा सरकारले केही गर्ला भन्ने आशा छ । पक्कै पनि वर्षौँदेखिको फोहरको डंगुर सफा गर्न केही समय लाग्ला । आशाले भविष्य देखाउँछ, निराशाले विद्रोही बनाउँछ । त्यही निराशाको उपज वर्तमान सरकार हो, जसलाई असफल हुने छुट छैन ।

पटकपटकको संघर्ष, बलिदानी र आन्दोलनले राजनीतिक परिवर्तन सफल भए पनि त्यसले निम्त्याएको निराशाले विद्रोह जन्माएजस्तै अर्को विद्रोहले देश वर्षौँ पछाडि धकेलिन सक्छ र अहिलेसम्मका उपलब्धि गुम्न पनि सक्छ । यो कुरालाई मनन गर्दै सबैको हात सबैको साथ लिएर अगाडि बढ्नुको विकल्प छैन । अन्यथा, सुनौलो बिहानीमाथि कालो बादल मडारिन सक्छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000