Logo
Logo

‘एमाले र माओवादी भ्रष्टहरूको पार्टी हो’


2k
Shares

काठमाडौं । दार्शनिक, वैचारिक रुपमा अन्योलग्रस्त र नैतिक रुपमा स्खलित पार्टी संगठनात्मक रुपमा मात्र लामो समय टिक्न सक्दैन । आउँदा केही वर्ष र दशकभित्र कम्युनिष्ट पार्टीहरू भविष्यमा फेरि उठ्न नसक्ने गरी पतनको दिशामा अभिमुख रहेको छ ।

एमालेको राजनीतिक व्यवहार र सञ्चालन गरिरहेको सरकारले यही कुरा पुष्टि गर्दछ । कम्युनिस्ट पार्टीका ठूलाठूला नेताहरू भ्रष्टाचार, कमिसनतन्त्र तथा नैतिक पतनको घटनामा लज्जास्पद ढंगले उदाङ्गै छन् ।

आर्थिक क्षेत्रमा उदारवाद, नवउदारवादी, नीतिलाई नै निरन्तरता दिइरहेको छ । शिक्षा र स्वास्थ्यको व्यापारीकरण कम्युनिस्ट नेतृत्वको सरकारमा पनि रोकिएको छैन । सम्पत्ति शुद्धीकरण आयोगलाई निष्क्रिय बनाउने तथा ठूला आयोजनाहरू बिना टेन्डर सिधै सम्झौता गर्न सक्ने प्रकरणको भित्री रहस्य कालोधन र कमिसनतन्त्रसँगको साँठगाँठ हो भन्ने कुरामा कुनै शंका छैन ।

एकातिर एमालेले मार्क्सवाद–लेनिनवादप्रति शब्द निष्ठा व्यक्त गर्न नछाडेको र अर्कोतिर यी विचारको सान्दर्भिकता र प्रयोगबारे व्यापक अन्योल, अविश्वास र हिनताबोध छ । सन् १९९० को दशकमा सोभियत संघको पतनपछि एमालेले जनताको बहुदलीय जनवादमार्फत् परम्परागत संसदीय प्रणालीको बाटो समातेको भए पनि सांसदवादी र कम्युनिस्ट बन्ने अन्तर्विरोधपूर्ण बाटोमा एमाले अग्रसर भएको छ । जुन विरोधाभासपूर्ण छ ।

निर्दलीय व्यवस्थाका पञ्चहरू भन्दा पनि तल्लोस्तरका क्रियाकलाप र चरित्रको प्रदर्शन एमालेले गरिरहेको छ । वर्तमान संविधान जारी गर्दा बखत कांग्रेससँग मिलेर मधेशी, आदिवासी जनजाति, थारू, मुस्लिम, खस–आर्य, दलित, महिला, पिछडा वर्ग आदि आन्दोलनलाई निर्मम रूपले दमन गर्ने, संसदीय शासकीय प्रणाली कायम राख्ने, पहिचान र सामर्थ्यका आधारमा राज्यपूनर्संरचना हुन नदिने नेकपा (एमाले)को प्रत्यक्ष संलग्नता रहेको छ, कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरणको नाममा नेकपा (एमाले) नेपाली कांग्रेस जस्तै औपचारिक–प्रतिनिधिमूलक संसदीय लोकतन्त्र÷उदारवादी लोकतन्त्रको पक्षपाती बन्न पुगेको छ ।

एमालेले आफूलाई पहिचान, समानुपातिक समावेशी, सहभागितामूलक तथा प्रत्यक्ष लोकतन्त्र र राष्ट्रिय÷जातीय, वर्गीय, लैंगिक मुक्तिको विरूद्धमा उभ्याएको यादवले बताएका छन् । यस्तो प्रवृत्तिविरुद्ध हाम्रो पार्टीले तीव्र वैचारिक तथा राजनीतिक संघर्ष गर्नुपर्दछ । कम्युनिस्ट समर्थक र तल्लो तहका इमानदार कार्यकर्ता पंक्तिलाई प्रशिक्षित गर्दै समाजवादी लोकतन्त्र÷समाजवादी लोकतन्त्रको मार्गचित्र र कार्यदिशाबारे प्रशिक्षित गर्दै ध्रुवीकृत गर्ने प्रयास गर्नुपर्छ ।

माओवादी विकृति र विसङ्गतिको केन्द्र
माओवादी केन्द्रमा ढुलमुले र अवसरवादी चरित्र हाबी भएको छ । माओवादीका नेता कार्यकर्ता ठूला भ्रष्टाचार र कमिसनमा लिप्त भएका छन् । यो पार्टीले आफूलाई सर्वहारा वर्गको पार्टी भने पनि वास्तवमा पार्टीको चाहाना र विश्वास देखिन्न । कम्युनिस्ट–माओवादी नामको खोलभित्र रहेका विकृति निम्न पुँजीवादी चरित्र बोकेको पार्टी हो ।

चिन्तन र व्यवहारमा मार्क्सवादी–लेनिनवादी माओवादी नभई ढुलमुले, अवसरवादी चरित्र नै हाबी रहेको छ’ ‘यस पार्टीका नेता– कार्यकर्ता ठूलाठूला भ्रष्टाचार, कमिशनतन्त्र र जग्गा दलालीमा लिप्त छन् । पछिल्लो कालखण्डमा माओवादी केन्द्र विकृति र विसङ्गतिको केन्द्रको रूपमा स्थापित हुँदै गइरहेको छ । माओवादीले सैद्धान्तिक रूपमा आफूलाई कम्युनिस्ट भने पनि राजनीतिक रूपमा एमालेभन्दा खासै भिन्नता छैन ।

रास्वपा र नागरिक उन्मुक्ति अस्पष्ट
रास्वपा र नागरिक उन्मुक्ति पार्टी विचारमा प्रस्ट हुन नसकेका पार्टी हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी जस्ता नयाँ दलहरूले विकास, सुशासन, समृद्धि र सुसंस्कृत राजनीति नभएको चिन्ता व्यक्त गर्दै छन् ।

यो सकारात्मक कुरा नै हो । तर, यी दलका विचार के हुन् ? र के कस्ता एजेन्डा बोक्ने हुन्, त्यो प्रस्ट छैन । केही नयाँ गरौँ भन्ने हुटहुटीले यी दल बनेका हुन सक्छन् । जसपा नेकपाका अध्यक्ष उपेन्द्र यादवले जनकपुरधाममा सम्पन्न पार्टी महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा दलहरूको चित्रण गरेका हुन् । उनको प्रतिवेदन महाधिवेशनबाट पारित भएको छ भने उनी पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्