काठमाडौं । एनसेलले नँया योजना सञ्चालनमा ल्याएको छ । एनसेलले ग्राहकलाई लक्षित गर्दै मेरो नम्बर, मेरै च्वाइस योजना ल्याएको हो । यसअन्तर्गत ग्राहकले आफूलाई मनपर्ने अन्तिमको ६ वटा अंक रोजेर आफ्नो मोबाइल नम्बर आफैं बनाउन सक्नेछन् ।
ग्राहकले कुनै महत्वपूर्ण मिति वा नम्बरलाई सधैंको लागि आफ्नै मोबाइल नम्बरमा परिणत गरी सधैं अन रहन सक्ने कम्पनीको भनाइ छ । आफ्नो सम्बन्धहरूलाई अझै प्रगाढ बनाउँदै आफ्ना प्रियजनहरूलाई पनि त्यस्ता विशेष नम्बरहरू उपहार दिन सकिने एनसेलले बताएको छ ।

यो योजनाको मोबाइल नम्बर ९७०५ नम्बर रेन्जबाट सुरू हुन्छ । विशेष सधैं अन नम्बर प्राप्त गर्न चाहने ग्राहकले अन्तिम ६ अंक आफै रोजेर आफ्नो विशिष्ट मोबाइल नम्बर बनाउन सक्ने छन् ।
ग्राहकले एनसेल एप वा एनसेल वेबसाइटमा गएर ‘मेरो नम्बर, मेरै च्वाइस’ क्लिक गरी आफूले चाहेको मोबाइल नम्बरको पछिल्लो ६ अंक उपलब्ध भए नभएको सजिलै हेरेर तत्काल अनलाइन बुकिङ गर्न सक्ने पनि कम्पनीले जनाएको छ । हाल प्रयोग गर्दै आएको मोबाइल नम्बरको पछिल्लो ६ अंक मिल्ने गरी नयाँ मोबाइल नम्बर लिन सकिने सुविधा यो योजनाको प्रमुख विषेशता हो ।














