काठमाण्डौं । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकका लागि ‘सिद्धार्थ रिवार्डस’ योजना सञ्चालनमा ल्याएको छ । बैंकले नेपालको बैंकिङ क्षेत्रमै पहिलो पटक डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने उद्देश्यका साथ ग्राहकका लागि ‘सिद्धार्थ रिवार्डस’ योजना सञ्चालनमा ल्याएको हो ।

नक्सालस्थित आफ्नो प्रधान कार्यालय भवनमा आयोजित एक कार्यक्रमबीच बैंकले योजनालाई सार्वजनिक गरेको छ । बैंकले सञ्चालनमा ल्याएको सिद्धार्थ रिवार्डस कार्यक्रम अन्तर्गत ग्राहकले सिद्धार्थ बैंकको कार्ड प्रयोग गरी गरेको खरिद र मोबाइल बैंकिङबाट गरेको टपअपको आधारमा रिवार्डस पोइन्टस प्राप्त गर्न सक्नेछन् ।
यसरी आर्जन गरेको पोइन्टसलाई हवाइ टिकट, होटल, पसल, उपहार कार्ड, बिमा तथा इन्टरनेट बिल पेमेन्ट आदि जस्ता विभिन्न सेवाहरु लिन भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सक्नेछन् ।
सिद्धार्थ रिवार्डस सार्वजनिक गर्ने क्रममा, बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले स्वागत मन्तव्य प्रस्तुत गर्दै बैंकको यस सुरुवातले डिजिटल भुक्तानीमा एक रोमाञ्चक र नयाँ अध्यायको सुरुवात गरी ग्राहकको बैंकिङ अनुभवलाई अझ गुणस्तरीय बनाउन मद्दत पुर्याउने बताए ।
साथै, बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले ग्राहकको सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखी कसरी पृथक एवं नवीनतम सेवा प्रदान गर्न सकिन्छ भन्नेमा बैंक सदैव केन्द्रित रहेको बताए ।














