Logo
Logo
आईडीए बैठकको निष्कर्ष

गरिब मुलुकका लागि ठूलो आर्थिक प्याकेज जरुरी


252
Shares

काठमाडौं । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१)को तेस्रो परिपूरण बैठकले आगामी सन् २०२५ देखि ०२८ सम्म तीन वर्षका लागि गरिब र विकासमा पछि परेका मुलुकका लागि सहयोग रणनीति तथा सहयोगका क्षेत्र निर्धारण गरेको छ ।

काठमाडौैंमा चार दिनसम्म चलेको बैठकले ती (आईडीए) मुलुकका लागि तीनवर्षे रणनीतिको खाका तयार पारेको हो । बैठकमा आईडीए देशहरूको वित्तीय परिदृश्य (फाइनान्सियल सिनारिओ) सम्बन्धमा गहन छलफल गरिएको थियो ।

साथै, बैठकमा आगामी तीन वर्षका लागि गरिब र न्यून आय भएका मुलुकका लागि प्रदान गरिने सहुलियतपूर्ण ऋण तथा अनुदान सहायताका प्राथमिकता क्षेत्र र त्यसको रणनीतिक ढाँचा, आवश्यक वित्तीय स्रोतको प्रतिबद्धता व्यक्त गर्ने सम्बन्धमा दातृपक्ष, सहायता प्राप्त गर्ने देशका प्रतिनिधि र विश्व बैंकका उच्चपदस्थ पदाधिकारीमा छलफल भएको थियो । विश्व अर्थतन्त्रमा उत्पन्न चुनौती र आईडीए मुलुकहरूको विकासको आकांक्षा सम्बोधन गर्न एतिहासिक रूपले ठूलो आर्थिक प्याकेज जरुरी रहेको बैठकले निष्कर्ष निकालेको छ ।

बैठक व्यवस्थापनका लागि अर्थ मन्त्रालयद्वारा गठित सचिव आयोजक समितिअन्तर्गतको व्यवस्थापन तथा समन्वय समिति संयोजक एवं मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालले गरिब र कम विकसित मुलुकका लागि बैठकका उपलब्धी एतिहासिक हुने बताए । उनले भने, ‘आईडीएले इन्पुटमा आधारित रणनीतिमा टेकेर काम गरेको थियो । अब नतिजालाई आउटपुटमा आधारित बनाएर जाने सैद्धान्तिक सहमति भएको छ ।’

बैठकले आईडीए मुलुकका जनताका लागि विद्युत् र सूचना प्रविधिमा पहुँच तथा अवसरको वातावरण बनाउने प्रारम्भिक रणनीति तय गरेको छ । यसअघि अवसर सिर्जना गर्ने सूचीमा रहेको शिक्षा र स्वास्थ्यमा भने अब गुणस्तर वृद्धिमा जोड दिने रणनीति आईडीएले अघि सारेको छ ।

यस्तै, महिलालाई मूलप्रवाहीकरणमा समावेश गर्न शैक्षिक र आर्थिक स्तरमा विकास तथा निर्णय प्रक्रियामा सहभागिता बढाउनुपर्ने आईडीएको निष्कर्ष रहेको छ । विश्व बैंकको आगामी अक्टोबरमा हुने बैठकमा आईडीएका निष्कर्षबारे थप छलफल हुनेछ । आगामी मंसिर २५ र २६ गते मा दक्षिण कोरियामा हुने आईडीए २१ को अन्तिम बैठकले तीनवर्षे रणनीति कार्यान्वयन गर्ने औपचारिक निर्णय गर्नेछ ।

राजधानीस्थित होटल सोल्टी प्लाजामा बसेको बैठक मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए । बैठक शुक्रबार अर्थमन्त्री वर्षमान पुन अनन्तले समापन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्