Logo
Logo

एनआईसी बैंकद्वारा कर्जा ग्राहकलाई विशेष छुट प्रदान


315
Shares

काठमाडौं । एनआईसी एसिया बैंकले म्याद नाघेको कर्जा यही असारभित्र तिर्ने ऋणीलाई विभिन्न छुट प्रदान गर्ने भएको छ । बैंकले २०८० चैत मसान्तसम्मको म्याद नाघेको कर्जा यही असारभित्र तिर्ने ऋणीलाई विभिन्न छुट प्रदान गर्ने भएको हो ।

बनका अनुसार चैतमा भाखा नाघेका कर्जाहरुको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम यही असारभित्र भुक्तान गरेमा जरिवाना तथा हर्जना रकममा शतप्रतिशत छुट पाउनेछन् ।

त्यस्तै साधारण बक्यौता ब्याज रकममा समेत भाखा नाघेको समयानुसार छुट पाउने बैंकले जनाएको छ । यसअनुसार ९१ दिनदेखि १८० दिन भाखा नाघेकामा १५ प्रतिशत, १८१ देखि ३६५ दिन भाखा नाघेकामा २५ प्रतिशत र ३६५ भन्दा बढी दिन भाखा नाघेका कर्जामा ३५ प्रतिशत साधारण ब्याज रकममा छुट पाउनेछन् ।

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा पर्नु भएका ग्राहक महानुभावहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकले जनाएको छ ।

यो छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुनरुत्थान एवं दिगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्