Logo
Logo

बंगलादेशमा अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसको शपथ भोलि


567
Shares

काठमाडौं । बंगलादेशमा गठन हुने अन्तरिम सरकारका सदस्यहरुले भोलि (बिहीबार) शपथ ग्रहण गर्ने भएका छन् ।

बंगलादेशका सेना प्रमुख जनरल वाकर जमानले नोबेल पुरस्कार विजेता मुहम्मद युनुस नेतृत्वको सल्लाहकार परिषदले भोलि शपथ लिने बताएका छन् ।

बुधबार अपराह्न पत्रकार सम्मेलन गर्दै उनले सम्भवतः भोलि बेलुकी ८ बजे सपथ ग्रहण हुने बताएको बंगलादेशको अखबार द डेली स्टारले लेखेको छ ।

उनले सल्लाहकार परिषद् सम्भवतः १५ सदस्यीय हुने भनेका छन् । सेना प्रमुख वाकरले तीनदेखि चार दिनभित्र बंगलादेशको परिस्थिति सामान्य हुने पनि बताएका छन् । यो अवधिमा अपराधमा संलग्नहरुलाई नछाडिने र कारबाही हुने समेत उनले बताएका छन् ।

उनले आफूसँगै वायु र जल सेनाका प्रमुखले पनि काम गरिरहेको बताएका छन् । उनले प्रोफेसर युनुससँग पनि कुरा गरेको बताएका छन् ।

‘उहाँसँग कुरा गरेर मलाई एकदमै खुशी लाग्यो, मलाई यस्तो लाग्यो कि उहाँ यो काम गर्नलाई एकदमै इच्छुक हुनुहुन्छ’, उनले भनेका छन्, ‘मलाई लाग्छ, हामीलाई लोकतान्त्रिक प्रक्रियामा लैजान उहाँ सफल हुनु हुने छ र सबैलाई त्यसबाट फाइदा पुग्नेछ ।’

विद्यार्थीले थालेको आरक्षणविरुद्धको आन्दोलनले हिंसात्मक रुप लिँदा सोमबार प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देश छाडेकी थिइन् । त्यसपछि सेना प्रमुख वाकरले अन्तरिम सरकार गठन गर्न अग्रसरता लिएका थिए । त्यसपछि आन्दोलनरत विद्यार्थीहरुको माग अनुसार नोबेल पुरस्कार विजेता युनुसको नेतृत्वमा सरकार गठन हुँदैछ ।

विद्यार्थीको आन्दोलनका क्रममा बिहीबारसम्ममा ४ सय जना मारिएको डेली स्टारले आफ्नो स्रोतबाट पुष्टि भएको भनेको छ ।

प्रतिक्रिया दिनुहोस्