Logo
Logo

भारतको सहयोगमा बनेको धुलिखेल अस्पतालको वार्ड भवन उद्घाटन


315
Shares

काठमाडौं । ‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत भारतको सहयोगमा बनेको धुलिखेल अस्पतालको वार्ड भवनको उद्घाटन गरिएको छ । 

भारतको चार करोड २६ लाख आर्थिक सहयोगमा निर्माण गरिएको काभ्रेपलान्चोकको धुलिखेल नगरपालिकास्थित धुलिखेल अस्पतालको वार्ड भवन बुधबार भारतीय राजदूतावासका प्रथम सचिव अविनाशकुमार सिंहले उद्घाटन गरेका हुन् । 

उक्त कार्यक्रममा धुलिखेल नगरपालिकाका मेयर, राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, अस्पताल व्यवस्थापनका प्रतिनिधि तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो । 

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग यस अस्पताललाई आवश्यक पर्ने अन्य सुविधासँगै वार्ड भवनको निर्माणमा उपयोग गरिएको थियो ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो । यस परयोजनाको कार्यान्वयन धुलिखेल नगरपालिका, काभ्रेपलाञ्चोकमार्फत गरिएको थियो । यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एउटा महत्त्वपूर्ण उदाहरण हो ।

कार्यक्रममा बोल्दै धुलिखेल नगरपालिकाका मेयर, राजनीतिक प्रतिनिधि, धुलिखेल अस्पतालका कार्यकारी निर्देशक तथा प्रशासनिक निर्देशकले नेपालका जनताको उत्थानका लागि प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुऱ्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे । 

नवनिर्मित वार्ड भवनले नेपाली जनतालाई स्वास्थ्य सेवामा गुणस्तरीय पूर्वाधार र राम्रो वातावरण उपलब्ध गराउन मद्दत गर्नेछ । सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४९० वटा परियोजना सम्पन्न गरिसकेको छ । 

यीमध्ये काभ्रेपलान्चोक जिल्लाका ७  वटा परियोजनासहित बागमती प्रदेशको विभिन्न क्षेत्रमा १०६ वटा परियोजनाहरू रहेका छन् । 

यसका साथै भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहार स्वरूप प्रदान गरिसकेको छ ।

त्यसमध्ये काभ्रेपलान्चोक जिल्लालाई प्रदान गरिएको ८ वटा स्कुल बस र १६ वटा एम्बुलेन्ससहित बागमती प्रदेशलाई २३६ वटा एम्बुलेन्स र ९८ वटा स्कुल बस उपहार स्वरूप प्रदान गरिएको छ जसमा भारत सरकारले सन् २०२१ जनवरीमा यस अस्पतालका लागि एउटा एम्बुलेन्स (एड्भान्स लाइफ सपोर्ट) उपहार स्वरूप प्रदान गरेको थियो । 

यस एम्बुलेन्सले स्वास्थ्योपचारमा पहिलो सेवा दिँदै आकस्मिक स्वास्थ्य सेवाको लागि महत्त्वपूर्ण योगदान पुऱ्याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्