
काठमाडौं । संघीय संसद्अन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्दै छ ।
संसद सचिवालयका अनुसार अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो ।
बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा नेपालको पुँजीबजार सम्बन्धी समसामयिक विषयमा धितोपत्र बोर्डसँग छलफल गर्ने कार्यसूची रहेको छ । त्यस्तै बिहामन ११ बजे नै बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छनबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा छलफल हुनेछ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजे नै बस्दै छ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफल हुने कार्यसूची रहेको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ । बैठक दिउँसो साढे १ बजे बस्नेछ ।
मध्याह्न साढे १२ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पुरातात्विक महत्वका सम्पदाको अवस्था, ग्यालरी बैठकभित्र रहेका पुरातात्विक वस्तुहरुको संरक्षण सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । बैठकमा पुरातत्व विभागका महानिर्देशकलाई बोलाइएको छ ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा डेंगी, हैजालगायतका सरुवा रोग संक्रमणको हालको अवस्था, नियन्त्रणका लागि मन्त्रालय र यस अन्तर्गतका निकायबाट भए गरेका कामकारबाही, समस्या र भावी कार्ययोजना तथा समग्र स्वास्थ्य क्षेत्रको सुधारको कार्ययोजनामा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।














