
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान साढे १० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने भएको हो ।
दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको सो बैठकअघि रास्वपा संसदीय दलको बैठक बोलाइएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
प्रतिनिधिसभामा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
बैठकमा रास्वपाले उक्त सदनमा पठाइएको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सम्बन्धमा छलफल गर्ने प्रवक्ता झाले जानकारी दिए । झाका अनुसार, बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र प्रस्तावित जलनसम्बन्धी गैरसरकारी विधेयकसम्बन्धी छलफलसमेत हुनेछ ।














