Logo
Logo

 शान्ति प्रक्रियाको हत्या गरियो: प्रभु साह 


819
Shares

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशमा शान्ति प्रक्रियालाई हत्या गरिएको कडा टिप्पणी गरेका छन् । उनले जनताले तेस्रो जनआन्दोलनको माग गरेको भन्दै ठूला दलका ठूला नेताहरूलाई हेक्का राख्न चेतावनी पनि  दिएका छन् ।  

बुधवार ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग एन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ को प्रतिवेदनमाथिको छलफलमा बोल्दै सांसद साहले यस्तो चेतावनी दिएका हुन् । उनले भने,‘संक्रमणकालिन न्यायसम्बन्धी यो विधेयक ढिलै आएपनि राष्ट्रिय सहमतिको साथ आएको छ । म स्वागत गर्न चाहन्छु । र, यसको इमानदारितापूर्वक कार्यान्वयन होस भनेर माग गर्न चाहन्छु ।’

उनले शान्ति भन्ने बित्तिकै न्याय र समानतासँग जोडिने विषय भएकोले अहिले नेपालमा व्यवहारमा त्यस्तो नपाइएको गुनासो पोखे । उनले भने,‘शान्ति भन्ने बित्तिकै न्याय र समानतासँग सम्बन्धित हुन्छ । यदि समाजमा न्याय र समानता भएन भने शान्ति हुनै सक्दैन् । जहाँ अन्याय छ, विभेद छ, उत्पीडन छ त्यहाँ शान्तिको परिकल्पना गर्न सकिन्न । शान्ति प्रक्रियाका पक्षधर नेताहरूले बडा दाबाका साथ आफूहरूले पूरै इमानदारिताका साथ र ज्यान लगाएर शान्ति प्रक्रियालाई पूरा गर्‍यौँ भन्ने कुरा राखिरहनुभएको छ । शान्ति प्रक्रियाको सार तत्त्व भनेको नै जनताका मुद्दा हुन् ।’

नेपालमा साँच्चिकै शान्ति चाहने हो भने माजका विभेद हटाउन हटाउनु पर्ने बताएका छन् । उनले भने, ‘यदि शान्ति पक्षधर आफूलाई ठान्छौं भने निश्चित् रुपमा समाजका विभेद हटाउन आफू इमानदार हुनुपर्छ । जो हिजो जनयुद्ध र जनआन्दोलनकालमा उठाइएका मुद्दाहरू, जो साँच्चै जनताका मुद्दा थिए । ती मुद्दा समानता र न्यायसँग सम्बन्धित थिए । समाजका विभेद हटाउने दिशामा उन्मुख थिए । त्यसमा हामीले के गर्‍यौँ भन्ने प्रश्न आउँछ । यदि हामी शान्ति प्रक्रियाका पक्षधर थियौँ भने त्यसमा इमानदारिता देखिनुपर्दथ्यो । हामी कत्ति पनि इमानदारिता देखेका छैनौँ ।’

साहले अहिले देशमा लोकतन्त्र नै नभएको टिप्पणी गरे । उनले प्रश्न गरे, ‘अहिले देशमा लोकतन्त्र कहाँ छ रु नेपाली जनताले त लोकतन्त्रको लागि लडेका थिए । आज जनताको पोजिशन के छ ? एउटा निरीह, शासित, लाचारको रुपमा खडा हुनुपरेको छ । अहिले जनतालाई कुनै मूल्य दिइएको छैन । लोकतन्त्रलाई हामीले पार्टीका नेताहरूले दलीय शासन बनाईदियौं । दलतन्त्र बनाइदियौं ।’

प्रतिक्रिया दिनुहोस्