काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमा डेटा सेन्टर निर्माण गर्ने अमेरिकी प्रविधि कम्पनीहरूलाई भारी कर तथा जरिबाना लगाउने चेतावनी दिएका छन् ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र यसका लागि आवश्यक पूर्वाधारमा चीनसँगको प्रतिस्पर्धामा अमेरिकी अग्रता कायम राख्न यस्तो नीति आवश्यक रहेको उनको भनाइ छ
शुक्रबार चीन भ्रमणपछि ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले यस्तो चेतावनी दिएका हुन् । उनले यसबारे सरकारी अधिकारीहरूसँग छलफल समेत नगरेको बताएका छन् ।
ट्रम्पले अमेरिकी समुदायहरूलाई डेटा सेन्टर निर्माणका अवसरको लाभ लिन आग्रह गर्दै यस्ता परियोजनाबाट स्थानीय बासिन्दाले आर्थिक लाभ र आवश्यक सुविधा पाउनुपर्ने बताए ।
ट्रम्पले एआई क्षेत्रमा अमेरिका र चीन मात्रै अग्रस्थानमा रहेको उल्लेख गर्दै उनले यस क्षेत्रमा अमेरिकी नेतृत्व कायम राख्नुपर्ने बताए । चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको वार्तामा एआईका लागि संयुक्त सुरक्षा मापदण्ड निर्माण गर्ने विषयमा सहमति भएको ट्रम्पले बताए ।
चिप तथा अन्य रणनीतिक प्रविधि उद्योगको लगानी विदेशिने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै उनले यस्ता उद्योग र पूर्वाधार अमेरिकामै विस्तार गर्नुपर्नेमा जोड दिए ।


















