Logo
Logo

‘जनार्दनले पार्टी फुटाउँदै छ ?’ भन्ने प्रश्नले प्रचण्ड हैरान 


1.3k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को हेडक्वार्टरबाटै उपमहासचिव जनार्दन शर्मा प्रभाकरले पार्टी फुटाउँछन् भन्ने सन्देश प्रवाह भएपछि सुरु भएको विवाद अझै साम्य भएको छैन ।

माओवादी केन्द्रभित्रको आन्तरिक विवाद मत्थर भयो भन्ने सन्देश दिन पार्टी अध्यक्ष प्रचण्डलाई हम्मेहम्मे हुन थालेको छ ।  जनार्दन शर्माले लिखित रुपमै असन्तुष्टि राखेपछि उठेका प्रश्नको जवाफ दिन माओवादी केन्द्र र प्रचण्डले ठूलो शक्ति नै खर्चिनुपर्ने स्थिति आइलागेको छ । 

जनार्दनले पार्टी फुटाउन लागेको भन्दै चलिरहेको विषयलाई कसरी साम्य पार्ने ? प्रचण्डले स्पष्टीकरण दिँदा दिँदै थाकिसकेका छन् । 

जनार्दनलाई सँगै राखेर समेत पार्टी नफुट्ने दाबी प्रचण्डले गरिरहेका छन् । तर, उनकै पार्टीका नेता कार्यकर्ताले विश्वास गर्न सकेको देखिन्न । यस्तोमा प्रचण्डले जहाँ पुग्छन्, त्यहाँ पार्टी फुट्दैन भन्न छुटाउँदैनन् । 

माओवादी केन्द्रको अध्यक्षभन्दा प्रचण्ड नै ठूलो भएको दाबी गर्ने प्रचण्डलाई जनार्दनले खोलेको फायरलाई सम्हाल्न हम्मेहम्मे परिरहेको बेला माओवादी केन्द्रले पार्टीमा जानकारी नभई निर्देशन नै दिने गरी सर्कुलर पठाएको छ । 

माओवादी केन्द्रले आन्तरिक सर्कुलर जारी गर्दै जनार्दनले पार्टी फुटाउन लागेको भन्ने कुरा झुटो रहेको भन्दै जनार्दनको भनाइलाई नै समावेश गरेको छ । 

गत साउन २५ देखि ३१ सम्म बसेको स्थायी कमिटी बैठकबारे जानकारी गराउन २ भदौ २ मा  पठाइएको सर्कुलरमा जनार्दनले पेस गरेको लिखित दस्ताबेजबारे उल्लेख थिएन । तर, आइतबार विशेष जोड दिएर सो विषय समेटिएको छ । 

सर्कुलरमा उल्लेख छ, ‘उपरोक्त सम्बन्धमा मिति २०८१ भदौ २ गते केन्द्रीय कार्यालयबाट जारी गरिएको परिपत्रमा बोल्ड गरिएका विषयहरू थप गरी पुनः परिपत्र गरिएको जानकारी गराइन्छ ।’  

त्यस्तै गत साउन ३१ गते स्थायी समिति बैठकपछि बिहीबार पार्टी कार्यालयमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले भनेका थिए-  ‘पार्टी फुट्ने हल्ला निराधार हो । पार्टीमा गरिएको आशङ्का र भ्रम पनि यो बैठकबाट चिरियो । कमरेड प्रभाकरले पार्टी फुटाउने भनेर भएको चर्चा आशङ्का गलत हो ।’

भदौ एक गते पनि पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौँ वार्षिक साधारण सभामा बोल्दै उनले स्थायी समितिको बैठकपछि यो आशङ्का हटेको बताउँदै पार्टी विभाजन नहुने बरु एकताबद्ध भएर अघि बढ्ने स्पष्ट पारेका थिए ।  

जनार्दनले पार्टी फुटाउने विषयमा प्रष्टीकरण दिन माओवादी केन्द्रले चालेको यो कदमले नै पार्टीमा यो विषयले कस्तो प्रभाव पारेको छ भन्ने विषय प्रस्ट पारिसकेको छ । 

उसो त प्रचण्डले समेत पार्टी नफुट्ने विषयमा प्रष्टीकरण दिने गरेका छन् । पार्टीका आन्तरिक बैठकदेखि सार्वजनिक रुपमा समेत उनले यस्तो प्रस्टीकरण दिइरहेको बेला जनार्दनले माओवादी केन्द्रमा हलचल ल्याएको चर्चा समेत चल्ने गरेको छ ।

जनार्दनले नै पार्टी फुटाउँदैछ भन्ने हल्ला चलाइएको र त्यसमा सत्यता नभएको कुरा प्रस्ट पारिसकेको भन्दै सर्कुलरमा नेता कार्यकर्तालाई पार्टी एक ढिक्का रहेको सन्देश दिन ठूलो मेहनत नै गर्नुपरेको स्थिति छ । 

यसअघि स्थायी कमिटी बैठकमा उनले पार्टी बिग्रिँदै गएको भन्दै १५ पृष्ठको प्रस्ताव राखेका थिए । तर, उनको प्रस्तावपछि प्रचण्ड स्वयंले सञ्चारकर्मीसँग बोल्दै पार्टीमा उनीसँग समस्या नभएको बताएका बताएका थिए । 

दुई प्रभावशाली नेताबाट पार्टीमा आन्तरिक दबाब झेलेका प्रचण्ड जसरी हुन्छ गणितमा टिकिरहने ध्याउन्नमा छन् । यसअघि पनि जनार्दन र वर्षमानबीच प्रचण्डले खेल्दै आए । तर जनार्दन र वर्षमान नजिकिएपछि प्रचण्डले पार्टी एकताको अर्को कार्ड फ्याँकेका छन् ।

विप्लवको नेकपा र माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताको प्रयास उनले गरेका छन् । 

पार्टीमा आफूमाथि प्रश्न उठेका बेला एकता गर्न सके आफू थप बलियो हुने बुझाइमा उनी रहेको नेताहरू बताउँछन् । तर, प्रचण्डले चाहे पनि सहजै पार्टी एकता हुने स्थिति नरहेको नेताहरू बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्