Logo
Logo

पार्टीमा ओलीको ब्रिफिङ: कांग्रेसलाई समयमै सत्ता दिन्छौँ


693
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को निर्वाचनमा एक्लै लड्ने बताएका छन् ।

मंगलबारको पोलिट्ब्युरो बैठकमा ओलीले आगामी निर्वाचनमा गठबन्धन नहुने बताएका हुन् । उनले आगामी मंसिरमा हुने उपनिर्वाचन र ८४ मा हुने निर्वाचन दुवैमा एक्लै लड्नेगरी तयारी थाल्न अध्यक्ष ओलीले निर्देशन दिए ।

‘अब हुने चुनावमा गठबन्धन हुँदैन, एक्लाएक्लै चुनाव लड्ने हो। हामी त्यसको तयारीमा बस्नुपर्छ,’ बैठकमा प्रधानमन्त्री ओलीले राखेको भनाइ उद्धृत गर्दै एक पोलिटब्यूरो सदस्यले भने, ‘मंसिरको उपचुनाव र ८४ को चुनावमा एक्लाएक्लै लड्छौँ। निर्वाचन पछि भने एलायन्स हुन पनि सक्छ। परिस्थिति हेरेर।’

साथै, उनले नेपाली कांग्रेससँग भएको सहमति अनुसार निर्धारित समयमा नै कांग्रेसलाई सत्ता हस्तान्तरण हुने पनि जानकारी पार्टी नेताहरूलाई गराएका छन् । उनले भने, ‘हामीले निर्धारित समयमा काम गरेर कांग्रेसलाई हस्तान्तरण गर्छौँ। कांग्रेसको नेतृत्वमा चुनाव हुन्छ ।’

साथै, ओलीले पछिल्लो समय आफू र पार्टीविरुद्ध कुनै न कुनै रुपमा आक्रमण भइरहेको बताएका थिए ।

‘अहिले केही मान्छेहरू विद्रोह गर्ने, विरुद्धमा मान्छे लगाउने भन्ने अभियानमा लागेका छन् । खासमा त्यो अभियान सफल हुँदैन,’ ओलीले बैठकमा भनेका छन्, ‘टुँडिखेलमै नारा लगाउने काम गरे, मान्छेलाई घुसपैठ गराउने गरी लागिरहेका छन् । हामी परिस्थिति सम्हालेर लान्छौँ।’

उनले विभिन्न तत्वहरूले अराजकता मच्चाउने प्रयास भइरहेको बताउँदै भने, ‘भड्काउन कसैले सक्दैन । राम्रै काम गर्न खोजिरहेका छौँ । हामीले केही गल्ती गरेका छैनौँ। कसैले केही गर्न सक्दैन । तर कोसिस चाहिँ अनेकन भइरहेको छ।’

प्रतिक्रिया दिनुहोस्