काठमाडौं । सांसदहरुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह रोकिएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले प्रधानमन्त्रीको समय नमिलेका कारण अन्तिम समयमा दीक्षान्त समारोह रोकिएको भन्दै आपत्ती समेत जनाएका छन् ।
बैठकमा रास्वपा सांसद सुमना श्रेष्ठले प्रधानमन्त्रीका कारण अन्तिम समयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह रोकिएको भन्दै कार्यक्षमतामाथि प्रश्न उठेको बताए ।
उनले विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने छुट कसैलाई नरहेको जिकिर गरे । श्रेष्ठले विश्वविद्यालयमा राजनीति हावी भएका कारण विद्यार्थीहरूलाई असर परेको पनि बताए ।
त्यस्तै राप्रपा संसदीय दलको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सम्पूर्ण तयारीपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा प्रधानमन्त्रीको निर्देशनमा स्थगित गरिएको भन्दै आपत्ति जनाए । उनले दीक्षान्तका लागि बिभिन्न स्थानबाट पुगेका विद्यार्थीको खर्च कसले व्यहोर्ने भन्दै प्रश्न गरे ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुन नसक्ने भएपछि स्थगित गरिएको थियो । भाद्र २३ गतेका लागि तय भएको दीक्षान्त समारोह आगामी कार्तिक २८ गते गर्ने विश्वविद्यालयले जनाएको छ ।














