काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ । संसदीय दलको शुक्रबार बसेको बैठकले संसद अवरुद्ध गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

नेकपा एमाले सचिव योगेश भट्टराईको अभिव्यक्तिले माओवादी जनयुद्ध, शान्ति सम्झौता र संविधानलाई अपमान गरेको माओवादीको निष्कर्ष छ । भट्टराईले बोलेकै दिन माओवादीले नियमापत्ति गरेको थियो ।
बुधबार सभामुखले हिंसा शब्द असंसदीय नभएको निर्णय सुनाएपछि माओवादीले संसद अवरुद्ध गर्यो । ‘जनयुद्धलाइ अपमानित गरिएको छ, यसमा (संशोधन) नआउँदासम्म अवरोधलाई निरन्तरता दिने निर्णय गरेका छौं’, पाण्डेले भने ।
बैठकले उपपसभामुख इन्दिरा राना मगरले भिसा अन्तर्वार्ताका लागि पत्र लेख्नु कमजोरी भएको बताएको छ । तर १८ महिनापछि संवैधानिक परिषद्लाई हेरेर उपसभामुखलाई हटाउन खोजेको माओवादी केन्द्रको निष्कर्ष छ ।














