Logo
Logo

नक्कली सुन प्रकरणमा डिआईजीको शंकास्पद भूमिका


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १० माघ ।

प्रहरीले सुन भनेर सार्वजनिक गरेको वस्तु परिक्षणमा तामा भएको घटनाको प्रहरी प्रधान कार्यालयले छानबिन थालेको छ । सुन नै साटिएको आशंका गरिएको छ ।


स्रोतका अनुसार यसमा प्रदेश नम्बर ३ का प्रहरी प्रमुख डिआईजी दीपक कुमार थापाको शंकास्पद भूमिका देखिएको छ । प्रदेश कार्यालयकै सूचनाका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । डिआईजी थापाका घुमुवा बुद्धिराज चौधरीको टोलीले सुन बरामद गरेको थियो ।
गत पुस २० गते ४ किलो सुन सहित ३ जनालाई पक्राउ गर्न सफल भएको भन्दै पत्रकार सम्मेलन गरेर जानकारी गराएको थियो ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक डम्बरबहादुर विकले आफूहरुको सहयोगमा प्रदेश ३ को प्रहरी इकाइले रसुवा हुँदै भारततर्फ लैजान लागेको अवस्थामा सुनसहित मान्छे पक्राउ गरेको बताएका थिए ।

प्रहरीले बरामद गरेको भनिएको ४ किलो सुनसहित पक्राउ परेका तीनै जनालाई पत्रकार सम्मेलनपछि आवश्यक कारबाहीका लागि भन्दै राजश्व अनुसन्धान विभाग काठमाडौं ल्याएको थियो ।

धादिङबाट काठमाण्डौ ल्याइर्पुयाउँदा साँझ परिसकेको थियो । साँझ परे पनि प्रहरीले सुन भनिएको वस्तु सहित तीनै जनालाई विभागमा लग्यो ।

प्रहरीले विभागको टोलीलाई सुन भनिएको वस्तुसहित पक्राउ परेकालाई बुझाएर जान खोजेको थियो । तर विभागको टोलीले त्यो बुझ्नु भन्दा पहिले सुन भनिएको वस्तु परीक्षण गर्ने भन्यो ।

विभागले पहिले परीक्षण गरेर मात्रै कुनै पनि वस्तु बुझ्ने गरेको बताउँछन् विभागका निर्देशक तथा सूचना अधिकारी शेखर पौडेल । त्यो दिन पनि विभागको टोलीले प्रहरीले ल्याएको सुन जिम्मा लिनु अघि परीक्षण गर्ने भन्यो ।
प्रहरीले ल्याएको सुन भनिएको वस्तु सहित विभागको टोली सुन, चाँदी व्यवसायी महासंघको सहकार्यमा त्रिपुरेश्वरमा रहेको एक सुनचाँदी पसलमा परीक्षणका लागि पुग्यो । त्यहाँ परीक्षण गराउँदा प्रहरीले बरामद गरेको भनेको सुन नक्कली भएको पुष्टि भयो । त्यसमा तामा र ढलोट थियो ।

सुन भनेर ल्याएको बस्तु नक्कली भएको पुष्टि भएपछि आफूहरुले त्यो जिम्मा नलिएको र प्रहरीले पनि मान्छे सहित उक्त वस्तुलाई आफैले लिएर गएको विभागका शाखा अधिकृत रामप्रसाद अधिकारीले बताए ।
परीक्षणका क्रममा प्रहरीले सुन भनेर ल्याएको वस्तु तामा र ढलोट निस्केको उनले बताए । ‘प्रहरीले सुन भनेर ल्याएको वस्तुमा सुन नभई तामा र ढलोटमा बाहिरबाट सुनको लेप मात्रै लगाइएको रहेछ,’ अधिकारीले भन्नुभयो । सुन नभएको पुष्टि भएपछि साँझ नै प्रहरीले पक्राउ परेकाहरुलाई पुनः जिल्ला प्रहरी कार्यालय धादिङ र्पुयायो । धादिङ लगेर प्रहरीले पक्राउ परेका तीनै जनालाई सुन मुद्दा नभइ ठगी मुद्दा चलाएको छ ।
बरामद गरिएको बस्तु स्थानीय सुनचाँदी व्यवसायीसँग परीक्षण गराउँदा सुन नै भनेकाले आफूहरुले आवश्यक कारबाहीका लागि विभागमा पठाउनु परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विक बताउँछन् ।

पक्राउ परेकाहरुसँग पनि त्यो बेला सोधपुछ गर्दा सुन नै भनेकाले आफूहरुले त्यही अनुसार सार्वजनिक गरेको उनको दाबी छ ।

उनीहरुलाई पक्राउ गर्दा तयार पारिएको मुचुल्का र विभागले परीक्षण गरेपछि फेरि तयार पारेको मुचुल्का आफूहरुसँग सुरक्षित रहेकाले बाहिर आए जस्तो साटिएको हो कि भन्ने खालका कुरामा सत्यता नरहेको पनि उनको दाबी छ ।
यो घटनामा प्रदेश प्रहरी कार्यालयको निकै चासो भएकाले सुन साटिएको आशंका गरिएको छ । डिआईजी थापा यसअघि ओटु सुनकाण्डमा कारबाही भोगेका अधिकारी हुन् । ओटुमा प्रहरीकै मिलेमतोमा सुन लुटिएको घटनामा उनको पनि संलग्नता थियो ।
अवकाश हुने बेला कमाउनकै लागि उनी प्रदेश नम्बर ३ मा पोष्टिङ भएको थियो । प्रचण्डलाई खुशी बनाएर उनी त्यहाँ गएका हुन् । विवादास्पन घुमुवा बुद्धिराज चौधरीलाई परिचालन गरेर उनले पैसा असुल्दै आएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्