काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइटस् लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको प्रतिशेयर अंकित मूल्य रु. १०० दरका १० लाख कित्ता साधारण शेयरको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई नियुक्त गरेको छ ।

हालै नेपाल एसबिआई मर्चेण्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र ठमेल प्लाजाको तर्फबाट कार्यकारी अध्यक्ष जगन्नाथ ज्ञवालीले उक्त निष्काशित शेयरको लागि निष्काशन तथा बिक्री प्रबन्धक सेवासम्बन्धी द्विपक्षिय सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बंैकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानी ब्यबस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा शेयर रजिष्ट्रारसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।
ठमेल प्लाजा होटल एण्ड सुइटस् कामनपा वडा नं १६ ठमेलमा आफ्नै स्वामित्वको जग्गा एवं सुविधा सम्पन्न भवनमा चार तारा स्तरको होटल ‘रमदा इन्कोर काठमाडौं ठमेल’को नामबाट विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको छ । होटलले हाल ९० वटा कोठामार्फत आन्तरिक तथा बाह्य पर्यटक÷अतिथिलाई सेवा प्रदान गरिरहेको छ ।
यस होटलले हङ्गकङ्गस्थित अन्तर्राष्ट्रिय कम्पनी वुइनधाम होटल एशिया प्याशिफिक कम्पनीसँग प्रविधि हस्तान्तरण सम्झौता गरेको र रमदा इन्कोर काठमाडौं ठमेल नामक टे«डमार्क प्रयोग गर्ने गरी उद्योग विभागबाट स्वीकृति प्राप्त गरेको छ । अमेरिकाको न्युजर्सी शहरमा मुख्य कार्यालय रहेको विश्वस्तरीय चेन होटल कम्पनी वुइनधाम होटल्स एण्ड रिसोर्ट अन्तर्गत संसार भरी नौ हजार एक सयभन्दा बढी होटल तथा रिसोर्टहरु सञ्चालनमा रहेका छन् ।














