- पूर्णशोभा चित्रकार
जेठ ३ गते । लकडाउनको ५४औँ दिन । कोरोनाबाट प्रभावित एकजना सुत्केरी महिलाको मृत्युको खबरले सिँगो मुलुकलाई झस्काएको छ । सत्ताईस बर्षअघि जननेता मदन भण्डारी र जिवराज आश्रितको दुःखान्त मृत्युको दिन हो । त्यस दिनको सन्दर्भमा उहाँहरु प्रति हार्दिक श्रद्धाञ्जली । आजको दिनको सम्झना गर्दै म क. जीवराज आश्रितको बारेमा केही सम्झनाका टिपोटहरु पस्कने प्रयास गर्र्दैछु । मदन भण्डारी कमरेडको बारेमा छुट्टै लेख्ने जमर्को गर्ने नै छु ।
जिवराज आश्रितसँगको सम्पर्क र सँगै काम गरेको धेरै बर्षको अनुभव भएपनि उहाँको लेखोटहरु र उहाँसँग भएका सबै पार्टी कामका टिपोटहरु राख्न नसकेकोमा म अहिले पछुतो गरिरहेकी छु । पञ्चायतकालिन भूमिगत राजनीतिक परिवेशमा पार्टी वा जनसंगठनको हरेक गतिविधिहरुको भिडियो, फोटो, प्रत्येक कार्यक्रमहरुको नोटलाई व्यवस्थित फाइलिङ गरेर राख्ने, प्रत्येक व्यक्तिहरुको भनाइहरुलाई उदृढ गरेर व्यवस्थित गर्र्न सजिलो थिएन । यदि यस्तो हुँदो हो त अहिलेको पुस्तालाई पुरानो कुराहरु पढेर जान्न र सही कुराहरुलाई आफ्नो परिवेशमा लागू गर्न कति सजिलो हुनेथियो । त्यसबेला नेता, सेल्टर, पार्टी सामाग्री जोगाउने जस्तो गाहे कुरा अरु थिएन । कुनै सानो गल्तीले पनि ठूल्ठूला दुर्घटनाहरु भएको हामीले अनुभव गरेका थियौँ । मैले यहाँ केही टुटफुट सम्झनाहरु मात्र शब्दको रुपमा पस्कने कोशिश गरिरहेकी छु ।

२०४६ सालमा बहुदल आइसकेपछि क. जिवराज आश्रित, जीवन तुलाधरको घर डल्लुमा डेरा गरेर बस्नु भएको थियो । कामको सिलसिलामा म उहाँलाई भेट्न गएकी थिएँ । पार्टी, अनेमसं आदिका कामहरुबारे केही छलफल भयो र मैले आफ्नो बिचारमा लागेका केही कुराहरु भनेँ । उहाँले एक एक गर्दै मेरो भनाइहरु टिप्नुभयो र सुझाव दिएकोमा मलाई प्रशंसा गर्नुभयो । म दंग भएँ । उहाँमा को ठूलो र को सानोको विचार नराखी कार्यकर्ताको विचार र सुझाव सुन्ने बानी एउटा उदाहरण नै थियो । उहाँबाट सिक्नुपर्ने धेरै कुरामध्ये यो पनि एक हो ।
२०४० साल असार १६ गते म अखिल नेपाल महिला संघ केन्द्रिय समिति (अनेमसंं) मा पुगेपछि अनेमसंको नियमित बैठकमा क. जिवराज आश्रित पार्टीको इन्चार्जको रुपमा आउनुहुन्थ्यो । उहाँबाहेक क.अमृत बोहरा (श्याम), क.माधवकुमार नेपाल (सुनिल) पनि आउनुहुन्थ्यो । खास खास प्रशिक्षण र भेलाहरुमा क.झलनाथ खनाल, सि.पि.मैनाली (जय) पनि आउनुहुन्थ्यो । त्यहाँ मैले के पाएँ भने अखिल नेपाल महिला संघको तर्फबाट कमरेडहरुलाई चिठ्ठी कसरी लेख्ने, चिठ्ठी कसरी पु¥याउने आदि विषयमा विस्तृत रुपमा सम्झाई बुझाई निर्देशन दिने, माइनुट लेख्ने, महिलाको नामबाट लेख लेख्नेलगायत अनेमसंका सानाभन्दा साना कामहरुसमेत आश्रित कमरेडले गरिदिनु भएको मैले थाहा पाएँ । त्यो सम्झँदा मलाई लाग्छ, हिजोआज महिलाहरुको हकहित, अधिकार, समानता, समावेशी, ३३ या पचास प्रतिशत महिला नेतृत्व आदि आदिको कुरा गरिरहेको बेला पुरुष भएृर महिला हकहित, अधिकार तथा उत्थानका लागि क. जिवराज आश्रितले गर्नुभएको योगदानलाई महिलाहरुले विर्सेमा त्यो ठूलो भूल हुनेछ ।
२०४१ साल चैत्र ९ गते मैले अनेमसंको सचिव (पहिले महासचिवको व्यवस्था थिएन र सचिवले नै प्रमुख रुपमा संघको जिम्मेवारी सम्हाल्नु पर्दथ्यो ) को जिम्मेवारी सम्हालेपछि क. जिवराज आश्रितले गर्दै आउनुभएको अनेमसंसँग सम्बन्धित धेरैजसो काम आफैँले सम्हाल्न थालेँ । लेखरचना, प्रतिवेदन, सिंहावलोकन रिपोर्ट, पर्चा सवै आफैले लेख्न थालें । अनेमसंको मुखपत्रको रुपमा निस्कने महिलामुक्तिको चौँथो प्रकाशन सम्पूर्ण रुपमा मेरै जिम्मामा आयो । तर, त्योबेला महिलाहरुको तर्फबाट राजनीतिक लेखहरु संकलन गर्न सजिलो भएन । अरु लेख रचनासहित उषा, प्रज्ञा र शोभा श्रेष्ठको नामबाट आफैँले लेखेको तीन वटा लेखहरु महिला मुक्तिमा छापिएका थिए ।
‘कमरेड तपाई यहाँबाट बसमा जानुस् र मलंगवाको बस स्टप झर्नुस् । बसबाट झरेपछि तपाईले एउटा स्टेशनरी पसल देख्नुहुन्छ । त्यहाँ इन्डियन टाइम्स पाईन्छ ?’ भनेर सोेध्नुस् । पसलेले ‘छैन, अरु भए हुन्न ?’ भनेर सोध्छन् । तपाइँ हुन्न त्यहिँ चाहिन्छ भन्नुस् । यो कोड संम्बाद हो । त्यसपछि उहाँले तपाइँलाई अन्यत्र लग्नु हुन्छ । तपाई उहाँको पछि लाग्नोस् । त्यहाँ मनिषा (शान्ता मानबी) क. पनि भेट्नु हुनेछ ।’ यो निर्देशन कसैको नभई क. जिवराज आश्रितको थियो । पार्टीको काम गर्न सजिलो थिएन । कुनै सानो सूचना बाहिर गएको खण्डमा कोहि पनि ठूलो खतरामा पर्न सक्थे । म अखिल नेपाल महिला संघको पदाधिकारीको जिम्मेवारीको कारणले नेपाल भरिका जिल्लाहरुमा गइरहनु पर्दथ्यो । प्रत्येक पल्ट नयाँ जिल्लामा जानुपर्दा यस्तै कोड शब्दद्वारा नयाँ नयाँ कमरेडहरुको सम्पर्कमा पठाउनु हुन्थ्यो जिवराज आश्रितले । म मात्रै होइन पार्टीका कुनैपनि नेता तथा कार्यकर्ताहरु बिना कुनै हिचकिच्याहट, कुनै तर्क बितर्क नगरी नेता तथा पार्टीका आदेश वा निर्देशनहरु पालना गर्दर्थे । पार्टी र नेताको बिश्वासको आधारमा कार्यकर्ताहरु आफूले जान्दै नजानेको ठाउँमा जान र आफूले चिन्दै नचिनेको व्यक्तिसँग भेट्न पनि सक्षम हुन्थ्ये । क. जिवराज आश्रितले म जस्तै कयौँ कार्यकर्ताहरुलाई कठिन बाटोमा हिँड्न सिकाउनुभयो, प्रेरित गर्नुभयो र सफल पार्नुभयो ।
जिवराज आश्रित कमरेडसँग भेट हुँदा त मलाई रमाइलो लाग्थ्यो । आप्mनो अगाडी आइरहेका सवै समस्याहरु समाधान होला भन्ने लाग्दथ्यो । तर, उहाँको पारिवारिक जीवन भने अनेक कठिनाइहरुले भरिएको थियो । काठमाडौंको नरदेवीमा भगवानरत्न तुलाधरको घरमा भूमिगत कमरेडहरु बस्ने एउटा सेल्टर थियो । त्यस सेल्टरको लागि चाहिने खर्च खुलारुपमा पेशा गरेर बस्ने साथीहरुको चन्दा र सहयोगले चलेको थियो । त्यहाँ सानो ठूलो गरी तीन चारवटा कोठाहरु भएकोले भूमिगत कमरेडहरु आउने जाने र केही स–सानो समूहहरुमा बैठकहरु गर्नको लागि सहज थियो ।
मेरो जिम्मेवारीको कारण त्यहाँ गइरहनु पर्दथ्यो । एकदिन त्यहाँ क. झलनाथ खनाल बसिरहनु भएको थियो । त्यहाँ अर्को एउटा कोठामा माया ज्ञवाली (जीवराज आश्रितको धर्मपत्नी) करिब एक डेढ वर्षको छोरालाई लिएर केही समय त्यतै बस्नुभएको थियो । मलाई झलनाथ कमरेडले एक्लै बोलाएर माया ज्ञवालीको कोठामा केही दिनदेखि खानेकुरा केही नभएको र उहाँ भोकै रहनुभएको सुनाउनुभयो । मैले त्यसपछि लगतै केही सामान आफ्नो घरबाट जम्मा पारेँं र पाँगा, कीर्तिपुर गरी केही चामल, चिउरा र अन्य केही साथीहरुबाट पैसा संकलन गरी त्यो सेल्टरमा पु¥याइ दिएँ । त्यो सानो सहयोगले पनि क. मायालाई केही राहत मिलेको हुनुपर्दछ भन्ने मैले आफूलाई आश्वस्त पारेँ ।
जनताको घरदैलोमा पुगेर संगठन गर्नेहरुले आफ्नो परिवारको सुख त्याग्नु पर्ने वाध्यताको एक नमूना थियो त्यो । उहाँले परिवारको समस्या हुँदाहुँदै पनि अबिचलित रुपमा पार्टीको संगठकको रुपमा भूमिका निभाइरहनु भयो । माया कमरेडले पनि श्रीमानले राजनीतिको लागि गर्नुभएको त्याग, तपस्याको साथसाथै धर्मपत्नीको हैसियतले सहनशिलता र धैर्यता राखी सबै खालका कष्ट सहेर श्रीमानलाई साथ दिइरहनु भयो । एउटा सफल योद्धाको पछाडि महिलाहरुको हात हुन्छ भन्ने कुरा वास्तवमै सहि छ ।
२०४६ साल जेष्ठ २८ देखि ३० गतेसम्म अखिल नेपाल महिला संघको पहिलो राष्ट्रिय सम्मेलन हुने निर्णय भयो । त्यो बेला बागमती र उपत्यकाको अनेमसं हेर्ने जिम्मा मेरो थियो । म अनेमसंको सचिव पनि भएको हैसियतले मैले सेल्टर, खानपानको व्यवस्था गर्ने, विभिन्न जिल्लाबाट आएका महिलाहरुलाई सुरक्षित ढंगले सेल्टरमा लाने, राजनीतिक र सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र प्रस्तावहरु लेख्ने आदि काम गर्नुपर्दथ्यो ।
पार्टीको जिल्ला कमिटीको तर्फबाट सम्मेलन व्यवस्थापन गर्ने जिम्मा कीर्तिपूरका एक जना कमरेडलाई (क.कृष्ण गोपाललाई) दिइएको थियो । सम्मेलन कीर्तिपुरमा रीना महर्जनको घरमा हुँदैछ भन्ने कुरा मलाई सूचित गरियो र म त्यसमा ढुक्कै थिएँ । तर सम्मेलन जस्तो बिषयमा तयारीमा कमजोरी गर्नु हुन्न जस्तो लागेर सम्मेलनको एक दिन अगाडि सेल्टरको बारेमा आफैँले जाँच गर्ने निर्णय गरेँ । त्यसकारण म सिधैँ त्यो घरमा गएँ र सम्मेलनको बारेमा सोधी खोजी गरेँ ।
स्थानीय कमरेडहरु मेरो कुरा सुनेर छक्क पर्नुभयो । किनकि, उहाँहरुलाई सम्मेलनको व्यवस्थापन बारेमा केही जानकारी गराएकै रहेनछ । मलाई चिन्ता यसकारणले भयो कि भोलिदेखि प्रतिनिधिहरु कीर्तिपुर आउन थाल्ने छन् र सम्मेलन हुने घर थाहा पाउन कोशिस गर्नेछन् । त्यो अव्यवस्थाले सबै महिला साथीहरु, सेल्टर दाता, गाउँका अरु कमरेडहरु र सम्पूर्ण पार्टी पंक्तिलाई नोक्सान पु¥याउन सक्नेछ । त्यो बेला कमरेड अष्टलक्ष्मी शाक्य झापाबाट आउँदा आउँदै पक्राउ पर्नुभएको खवर आइसकेको थियो । धेरैजसो महिला कमरेडहरु जिल्ला जिल्लाबाट हिँडेर बाटो बाटोमा पुगिसकेको जानकारीमा आएको थियो । उ बेला अहिले जस्तो मोबाइलको सुबिधा थिएन ।
नयाँ ठाउँको जानकारी दिन सम्भव थिएन । जसरी पनि कीर्तिपुरमा सम्मेलन गर्नुपर्ने थियो । मैले तुरुन्तै केही साथीहरुलाई भेला गर्न लगाएँ र समस्यालाई विस्तृत रुपमा पेश गरेँ । त्यहाँका स्थानीय कमरेडहरुले बिना हिचकिच्याहट त्यत्रो ठूलो जिम्मेवारी लिन तयार हुनुभयो र ठाउँको तय भयो । सम्मेलन गर्ने ठाउँ कीर्तिपुरको समल टोलमा चिरिभाईको घरमा गर्ने निर्णय भयो । म कीर्तिपुरबाट फर्कें र स्थिति र तयारीबारे क. जिवराज आश्रित र क.सुरेन्द्र पाण्डेलाई जानकारी दिएँ । त्यही राति क. जिवराज आश्रित र म फेरि कीर्तिपुरको सम्मेलन गर्ने सेल्टरमा पुग्यौँ र सम्मेलनको सफलताको लागि विस्तृत योजना बनाउन थाल्यौँ । सम्मेलन भूमिगत शैलीमा सफलतापूर्वक टुंगियो । त्यस कामको निम्ति मैले सम्पूर्ण पार्टीपंक्ति, नेता जिवराज आश्रित मात्र होइन, सम्पूर्ण कीर्तिपुरबासी कमरेडहरुलाई पनि हार्दिक अभिवादन गर्दछु ।
२०४६ साल जेष्ठ २८ देखि ३० गतेसम्म अखिल नेपाल महिला संघको पहिलो राष्ट्रिय सम्मेलन हुने निर्णय भयो । त्यो बेला बागमती र उपत्यकाको अनेमसं हेर्ने जिम्मा मेरो थियो । म अनेमसंको सचिव पनि भएको हैसियतले मैले सेल्टर, खानपानको व्यवस्था गर्ने, विभिन्न जिल्लाबाट आएका महिलाहरुलाई सुरक्षित ढंगले सेल्टरमा लाने, राजनीतिक र सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र प्रस्तावहरु लेख्ने आदि काम गर्नुपर्दथ्यो ।
२०४६ सालमा बहुदल आई पार्टी खुला भैसकेपछि पार्टीले राष्ट्रिय परिषदको बैठक पोखरामा दिपेन्द्र राष्ट्रिय सभागृहमा गर्ने तय गरेको थियो । अखिल नेपाल महिला संघको केन्द्रिय कार्यालय परोपकार भिमसेनस्थान काठमाडौंमा राखिएको थियो । अनेमसंको पहिलो सम्मेलनपछि अध्यक्षमा क. अष्टलक्ष्मी शाक्य हुनुभएको थियो र म महासचिव थिएँ । त्यो बेला मेरो जेठो छोरो सानो थियो र म बलम्बुको बिद्यालयमा पढाउँदै एकजना बिद्यार्थीको घरमा सेल्टर गरेर बस्थे । मलाई पनि त्यो भेलामा जान इच्छा थियो । अनेमसंको महासचिवको हैसियतले म त्यस बैठकमा जान पाउने हक पनि थियो । तर पार्टी र अनेमसं खुला भैसकेपछि महिलाहरुमा यति धेरै उछिना पाछिनको विचारहरु आउन थाले कि आप्mनो स्वार्थको लागि ससाना गुटसमेत बनाउन थाले ।
महिलाहरुले पनि चाप्लुसी र ढाँटका अनेकौँ कुराहरु गर्न कति सिपालु बनिसकेका थिए । साना ठूला स्वार्थका कारण आप्mनै समकालिन साथीहरुलाई पेलपाल गर्ने बातावरण बन्दै गयो । एक आपसमा अस्वस्थ प्रतियोगिताको भावना बढ्न थालेको देखियो । त्यसको चपेटामा म परेँ । मेरो छोरो सानै थियो । रोगी र रुन्चे थियो । आमाको मायाले त्यसलाई मबाट टाढै राख्ने दुष्प्रयास पनि मैले गर्न सकिन । मलाई पोखरा नलैजानको लागि सानो स्वार्थका गुटले धेरै प्रयास गरे । तर जिवराज आश्रितको विवेक र सुझबुझले मैले त्यस भेलामा भाग लिने मौका पाएँ । स्वार्थमा लिप्त व्यक्तिहरुले त्यो भेला भरि नै मलाई अनेकौँ अड्को थापि नै रहे । महिलाहरुको समानता र अधिकारको लागि पुरुषहरुको कति ठूलो हात हुन्छ भन्ने कुरा क. जिवराज आश्रितको यो कामबाट सिक्न सकिन्छ ।
२०४६ सालमा बहुदल आइसकेपछि क. जिवराज आश्रित, जीवन तुलाधरको घर डल्लुमा डेरा गरेर बस्नु भएको थियो । कामको सिलसिलामा म उहाँलाई भेट्न गएकी थिएँ । पार्टी, अनेमसं आदिका कामहरुबारे केही छलफल भयो र मैले आफ्नो बिचारमा लागेका केही कुराहरु भनेँ । उहाँले एक एक गर्दै मेरो भनाइहरु टिप्नुभयो र सुझाव दिएकोमा मलाई प्रशंसा गर्नुभयो । म दंग भएँ । उहाँमा को ठूलो र को सानोको विचार नराखी कार्यकर्ताको विचार र सुझाव सुन्ने बानी एउटा उदाहरण नै थियो । उहाँबाट सिक्नुपर्ने धेरै कुरामध्ये यो पनि एक हो ।
विसं २०५० साल जेष्ठ ३ गते अचानक उहाँको देहान्त भएको खवर सुनेँ । मन धेरै दुख्यो । सम्झँदा अझैपनि गाह्रो हुन्छ । उहाँको देहावसानको केही समयपछि म माया ज्ञवालीको डेरामा फेरि गएँ । पहिलेको र पछिको बातावरण एकदमै फरक पाएँ । त्यहाँ पहिलेजस्तै कार्यकर्ता तथा नेताहरुको कुनै भीड थिएन । सुनसान चकमन्न वातावरण थियो त्यहाँ । त्यो बेला क. मायाले भन्नुभएको कुरा अझै सम्झिरहेकीछु, ‘मानिसहरु बलेको आगो ताप्छन्, नबलेको ताप्दैनन् ।’ यो कुरा महिलाहरुको लागि शिक्षा पनि हो कि महिलाहरु नेताको धर्मपत्नी भएरमात्र पर्याप्त हुँदो रहेनछ । महिलाहरु आफैँ सक्रिय योद्धाको रुपमा प्रस्तुत हुन सक्नुपर्दो रहेछ । महिलाहरुले समाज, पार्टी तथा देशको लागि गरिने निरन्तरताको कामले मात्र महिलाहरुले चाहेको मानसम्मान, सहयोग निरन्तर रुपमा पाइरहँदो रहेछ । आगो भई महिला आफैँ पनि बलिरहनुपर्ने रहेछ, जसले अरुलाई ताप दिइरहन सक्दछ । हार्दिक श्रद्धाञ्जली जिवराज कमरेड ।














