Logo
Logo

सरकारी वकिलको कार्यालयमा आजपनि रविको बयान जारी


441
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिनेक्रम जारी छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगीको अनुसन्धानका लागि उनलाई पोखराबाट बिहीबार काठमाडौं ल्याइएको थियो । शुक्रबारदेखि सरकारी वकिलको कार्यालयमा सुरु भएको बयान आज पनि लिइएको हो ।

काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा शुक्रबार बिहान ९ बजेदेखि दिउँसो साढे ३ बजेसम्म उनको बयान लिइएको थियो । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितताबारे जाहेरी परेपछि प्रहरीले पहिले स्वर्णलक्ष्मी सहकारीमा छापा मारेर केही कागजातहरू बरामद गरेको थियो । जसमा गाडी किन्न भनेर रवि लामिछाने र सहकारीका अध्यक्ष जिबी राईले दुई पटक गरेर ४६/४६ लाख रुपैयाँ लिएको भेटिएको थियो ।

यसपछि लामिछाने छानबिनको दायरामा तानिएका हुन् । पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अपचलन भएको प्रकरणमा प्रहरीले लामिछानेलाई २ कात्तिकमा प्रहरीले वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरेको थियो । सुरुमा उनीमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो भने पछि कास्की प्रहरीले सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान थालेको थियो । लामिछानेमाथि बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा पनि अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्