काठमाडौं । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग यतिबेला काठमाडौंको कीर्तिपुरस्थित टीयु मैदानमा चलिरहेको छ । मंसिर १५ गतेदेखि सुरु भएको यो लिग आगामी पुस ६ गतेसम्म चल्ने छ ।
एनपीएलको चर्चा देश–विदेशमा व्यापक छ । योसँगै एनपीएलमा सट्टेबाजीको आशङ्का समेत हुन थालेको छ ।
एनपीएलको सहप्रायोजनमा ‘वल्फ ७७७ न्युज’ पनि छ । जसको पृष्ठभूमि अनलाइन सट्टेबाजी हो । शनिबारदेखि सुरु भएको एनपीएलको उद्घाटन खेलमा बाउन्ड्री र स्टम्प पछाडि ‘वल्फ ७७७ न्युज’को लोगो राखेको देखिएको थियो ।

नेपालमा कुनै पनि प्रकारको सट्टेबाजी प्रतिबन्धित छ । तर ‘वल्फ ७७७’ले भित्रभित्रै सञ्जाल विस्तार गर्न मिडियाका रूपमा एनपीएलमा उपस्थिति जनाएको छ । ‘वल्फ ७७७ न्यूज’ले सेरोगेट एड्भार्टाइजिङ मार्फत एनपीएलमा प्रवेश गरेको हो ।
सेरोगेट एड्भर्टाइजिङ भनेको कुनै उत्पादन वा सेवाको प्रत्यक्ष विज्ञापन गर्न कानुनी रोक लागेको अवस्थामा अप्रत्यक्ष रूपमा त्यसैलाई प्रवर्द्धन गर्ने विज्ञापन प्रवृत्ति हो । यसमा प्रतिबन्धित वस्तुजस्तै मदिरा, चुरोट वा जुवाजस्ता उत्पादनहरूको प्रोत्साहन गरिन्छ ।
वल्फ ७७७ न्युज न्युज साइट पनि कामचलाउ देखिन्छ । आफूलाई गेमिङ न्युज पोर्टलको दाबी गर्ने वल्फ ७७७ न्युजले पछिल्लो नौ महिनायता कुनै समाचार समेत प्रसारण गरेको छैन । गत मार्च चारदेखि अहिलेसम्म यो न्युज पोर्टलमा कुनै समाचार अपडेट भएको छैन ।

वल्फ ७७७ को मुख्य धन्धा अनलाइन क्यासिनो हो । यही वल्फ ७७७ बाट नै वल्फ ७७७ न्युज पनि सञ्चालन भएको हो । वल्फ ७७७ न्यूजको वेवसाइमा हेर्दा पनि संकास्पद देखिन्छ । यो कहाँबाट र कुन संस्थाबाट सञ्चालित छ भन्ने समेत खुलाइएको छैन ।
यता, वल्फ ७७७ न्यूजको डोमेनमा समेत संस्थाको नाम लुकाइएको छ । विथ्हेल्ड फर प्राइभेसीमार्फत कुनै पनि कम्पनीले आफ्नो संस्थाको नाम गोप्य राख्न सक्छ । वल्फ ७७७ न्यूजले पनि त्यही कम्पनीलाई पैसा तिरेर संस्थाको नाम गोप्य राखेको हो ।

एनपीएलले पनि आफ्ना प्रायः सबै प्रायोजकको नाम पारदर्शी रूपमा खुलाएको छ । तर, वल्फ७७७ न्युजको को नाम औपचारिक रूपमा घोषणा गरिएको थिएन । न त आयोजक क्यानले पारदर्शी रूपमा कतै यसबारे उल्लेख गरेको छ ।
वल्फ ७७७ र वल्फ ७७७ न्युजको लोगो पनि एउटै छ । वल्फ ७७७ कै लोगोको तलपट्टि सानो अक्षरमा ‘ल्भधक’ थपिएको छ । यो हेर्नुहोस्

एनपीएलमा सट्टेबाजीको आंशका भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले त्यसबारे निगरानी बढाएको छ । सीआईबीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक होवीन्द्र बोगटीले भने, ‘क्रिकेटमा सट्टेबाजी हुनसक्ने भएकाले कडा निगरानी राखेका छौं ।’
‘वल्फ ७७७’को धन्धा
वल्फ ७७७ ले नेपालमा पहिलादेखि नै सट्टेबाजी गर्दै आएको छ । अत्यधिक विज्ञापन गर्ने अवैध प्लेटफर्ममा वल्फ ७७७ शीर्ष स्थानमा पर्छ । यसअघि २ असार २०८१ मा सीआईबीले वल्फ ७७७ को छ जना एजेन्टलाई पक्राउ गरेको थियो । उनीहरुले २४ करोडभन्दा बढी अवैध रुपमा कारोबार गरेको प्रहरीले फेला पारेको थियो ।
गुजरातमा मुख्य कार्यालय रहेको वल्फ ७७७ले भारत, श्रींलका र दुबईमा पनि अनलाइन सट्टेबाजी गर्दै आएको छ । गुजरातको अहमदाबाद अपराध शाखाले २०२३ मार्च २३ मा १४ सय करोड भारतीय रुपैयाँ क्रिकेट सट्टेबाजी गरेको भन्दै यसका मालिक राकेश राजदेव उर्फ राकेश राजकोटविरुद्ध ‘लुकआउट नोटिस’ जारी गरेको थियो ।

राजदेवले डमी कम्पनीहरू, एजेन्टहरू र बिचौलियाहरूको नेटवर्कमार्फत विभिन्न देशमा ठूलो सट्टेबाजी नेटवर्क चलाएको अहमदाबाद पुलिसको दाबी छ । उनीद्वारा सञ्चालित प्रमुख सट्टेबाजी प्लेटफर्महरू वल्फ ७७७ र डायमण्ड एक्सच पर्दछ ।
भारतीय प्रहरीले प्रहरीले अवैध सट्टेबाजी लेनदेनमार्फत आर्जन गरेको पैसा प्राप्त गर्न र स्थानान्तरण गर्न प्रयोग हुने ११ फर्जी फर्महरू र १२ वटा बैंक खाताहरू पनि फेला पारेको थियो ।
२०२३ मार्च २८ मा सम्पत्ति शुद्धीकरण अनुसन्धानले ‘वल्फ ७७७ न्युज’को कार्यालयमा छापा समेत मारेको थियो । यस कम्पनीले फिनटेक कम्पनी र यसका प्रमोटरहरूलाई अवैध अनलाइन सट्टेबाजी र गेमिङमा संलग्न भएको आरोपमा छापा मारेरको थियो । साथै राकेशको ३ कडोर भन्दा बढी भारतीय रुपैयाँ रहेको बैंक खाता समेत रोक्का गरेको थियो ।
सादा पोशाकमा प्रहरी परिचालन
एनपीएलमा ‘म्याच फिक्सिङ’ र सट्टेबाजी नहोस् भनी प्रहरी प्रधान कार्यालयले विशेष प्रहरी टोलीलाई सादा पोशाकमा परिचालन गरेको छ । प्रहरी प्रधान कार्यालयले खटाएका प्रहरी टोली सहभागी टीमहरूसँगै बस्नेसमेत जनाइएको छ ।
स्रोतका अनुसार एन्टी करप्सन टिमको आग्रहमा प्रहरीले टोली बनाएर खटाएको हो । उनीहरू खेलाडी बसेकै होटलमा बस्ने गरको स्रोतको दाबी छ । एनपीएलका लागि आईसीसीको एन्टी करप्सन युनिटमा पूर्वप्रहरी नायब महानिरीक्षक ईश्वरबाबु कार्की छन् । कार्की नेतृत्वकै न्युनिटमा रहेर प्रहरीले समेत सहयोग गर्ने छ ।
टी–२० लिगको धधङ्गी
यसअघि २०७९ मा क्यानले आयोजनाका गरेको नेपाल टी–२० लिगमा भने खेलाडीमाथि ‘स्पट फिक्सिङ’को आरोप लागेको थियो । उक्त ‘स्पट फिक्सिङ’मा पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका थिए । उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको थियो ।
हाल दुवैले अदालतबाट सफाई पाइसकेका छन् । तर, आदिल अझैँ टिममा फर्केका छ्रैनन् । क्यान स्रोतका अनुसार, यही मुद्दाका कारण आईसीसीले उनलाई क्लिन–चिट दिन मानेको छैन । यसपालिको एनपीएलमा समेत कुनै टिममा छैनन् ।
नेपाल टी–२० लिगमा उनी जनकपुर रोयल्सबाट सहभागी थिए । उनलाई नेपाली क्रिकेट जगतमा आशा लाग्दा खेलाडीका रूपमा हेरिएको थियो । तर, त्यही प्रकरणबाट उनको खेल–जीवन धरापमा छ ।














