
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गएराति पोखरा लगिएको छ । सहारा सहकारीको रकम हिनामिना अभियोगमा चितवनमा हिजो अबेर बयान सकिएपछि राति ३ः३० बजे नै पोखरा लगिएको हो ।
कास्की प्रहरी प्रवक्ता, डीएसपी वसन्तकुमार शर्माले रवि लामिछानेलाई राति नै पोखरा ल्याइएको जानकारी दिए । लामिछानेलाई पुन म्याद थप गरेपछि वीरगञ्ज लैजाने प्रहरीको तयारी छ । सानो पाइला सहकारीको रकम अपचलन गरेको कसुरमा उनीहरुविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ ।
ओखलढुंगाका जीबी राई समूहले सञ्चालन गरेका पाँच सहकारीबाट करोडौँ रकम गोर्खा मिडियामा गएको थियो । लामिछाने गोर्खा मिडियाको सञ्चालक तथा प्रबन्ध–निर्देशक हुँदा उनले खर्च गरेका थिए । सोही आधारमा उनी अनुसन्धानको दायरामा तानिएका हुन् ।
हिजो दिउँसो लामिछाने बयान चलिरहँदा हिजो चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरूले प्रदर्शन गरेका थिए । सो क्रममा प्रदर्शनकारी र प्रहरीबिच झडप समेत भएको थियो । आज पनि प्रदर्शन हुनसक्ने भएकोले लामिछानेलाई राति नै पोखरा ल्याइएको हो ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् । आफ्ना सभापति पक्राउ परेपछि रास्वपाले सरकारले प्रतिशोध राखेको आरोप लगाउँदै आएको छ ।














