काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले संविधान संशोधनका लागि सुझाव संकलनसहित प्रतिवेदन पेस गर्न कार्यदल गठन गरेको छ ।

स्थायी कमिटी बैठकले प्रकाश ज्वालाको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदल सदस्यमा गरिमा साह, गणेश विक, बलदेव चौधरी ,रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई रहेका छन् ।
त्यस्तै बैठकले आगामी निर्वाचनमा कलम चुनाव चिन्हका साथ उम्मेदवारहरु एक्लै चुनाव लड्ने निष्कर्ष समेत निकालेको छ । यसका लागि जनतामा जाने नेता जगन्नाथ खतिवडाले बताए ।
बैठकले पार्टी एकता नगर्ने र सुदृढीकरणमा ध्यान दिने निर्णय पनि गरेको उनले जानकारी दिए । बैठकले पार्टीलाई जनतासँग जोड्नको लागि जनसहर्षका अभियानहरू चलाउने निर्णय पनि गरेको छ । स्थायी कमिटी बैठकले पार्टीको केन्द्रीय सचिवालय गठन गरेको छ ।
सचिवालयमा अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेता, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २४ जना रहने खतिवडाले बताए ।
बैठकले पाँच सदस्यीय केन्द्रीय कार्यालय गठन गरेको छ भने पार्टीको आगामी कार्ययोजनालाई संशोधनसहित पारित गरेको छ । कार्यविभाजनका सन्दर्भमा आएका सुझावहरूलाई अध्ययन गरी दुई दिनपछि टुङ्ग्याउने खतिवडाले बताए ।














