
काठमाडौं । मोरङको रतुवामाई नगरपालिका–९ स्थित भौडा टोलमा ग्यास लिक भएर लागेको आगोमा परी घाइते भएकी युवतीको मृत्यु भएको छ। आगोले जलेर गम्भीर घाइते भएकी ३० वर्षीया सुरक्षा भट्टराईको काठमाडौँस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।
गत कात्तिक २४ गते तिहारका दिन अपराह्न करिब ४ः३० बजे लोकनाथ भट्टराईको दुईतले पक्की घरको भुइँतलास्थित भान्छा कोठामा ग्यास लिक भई आगलागी भएको थियो । आगलागीमा परी घरमा रहेकी लोकनाथकी छोरी सुरक्षा भान्छा कोठाबाट बाहिर निस्कने क्रममा आगोको चपेटामा परेकी थिइन् । जलेर घाइते भएकी उनलाई सुरुमा उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएको थियो ।
उनको अवस्था गम्भीर भएपछि सोही दिन नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल ल्याइएको थियो । तर, उपचारकै क्रममा आज उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।


















