Logo
Logo

पोखराको बाल सुधार गृहबाट फेरि भागे एक बालबन्दी


0
Shares

काठमाडौं । पोखरा महानगरपालिका–१८ सराङकोटस्थित बाल सुधारगृहबाट आइतबार बिहान फेरि एक जना बालबन्दी फरार भएका छन् । १७ वर्षीय ती बालबन्दी सुधारगृहको पछाडिपट्टिको पर्खाल नाघेर फरार भएका हुन् । कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार बिहान करिब ७ः १५ बजे पानी भर्ने क्रममा ती बालबन्दी पर्खाल नाघेर भागेका हुन् ।

सुधारगृह प्रमुख डाँसीराम रेग्मीका अनुसार प्रहरीले रोक्न खोज्दाखोज्दै ती बालबन्दी तारबार नाघेर जंगलतर्फ भागेका थिए । घटना भएपछि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइएको उनले बताए । रामेछाप घर भएका थापा थरका ती बालबन्दी २०८२ जेठ ४ गते दुई वटा चोरी मुद्दामा बाल सुधारगृह पठाइएका थिए । एउटा मुद्दामा अदालतले उनलाई दुई वर्ष सजाय तोकेको छ भने अर्कोमा पुर्पक्षका लागि सुधारगृहमा राख्ने आदेश दिएको छ ।

फरार बालबन्दीको खोजीका लागि प्रहरीले विभिन्न टोली परिचालन गरेको छ । प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको कमान्डमा सिभिल प्रहरीसहित २० जनाको टोली खटिएको छ । त्यसैगरी, जिल्ला प्रहरी प्रमुख कार्कीको कमान्डमा थप ३० जना प्रहरी परिचालन गरिएको छ ।
वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायव उपरीक्षक सूर्यबहादुर बोगटीको कमान्डमा १२ जनाको टोली पनि खोजीमा खटिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाबाट प्रहरी कुकुरसहित तीन जनाको टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

यसअघि पनि ती बालबन्दी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएका बेला प्रहरीलाई छक्याएर फरार भएका थिए । २०८२ पुस २४ गते फरार भएका उनी २०८३ जेठ ४ गते इटहरीबाट पक्राउ परेका थिए । पक्राउपछि उनलाई पुनः सराङकोटस्थित बाल सुधारगृहमा ल्याइएको थियो । यसपटक फरार हुँदा उनले कालो जिन्स पाइन्ट र निलो–कालो कोठे सर्ट लगाएको प्रहरीले जनाएको छ । गोरो वर्ण, करिब पाँच फिट एक इन्च उचाइ र मोटो शरीर भएका उनको निधारमा खत रहेको प्रहरीले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000