Logo
Logo

सुप्रिम सहकारी ठगी प्रकरण : रविको थुनछेक बहस जारी


567
Shares

काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बहस जारी छ । कार्यालय सुरु भएसँगै लामिछाने उपस्थित भएपछि रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बहस भइरहेको हो ।

बुधबार बयानमात्रै सकिएर थुनछेक बहस नभएपछि उनलाई परिवार र वकिलको जिम्माजमानीमा छाडिएको थियो । सोही अनुसार लामिछाने बिहीबार अदालतमा उपस्थित भएपछि अहिले बहस भइरहेको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए ।

पक्ष–विपक्षका वकिलहरुले बहस गरेपछि उनलाई धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश आउने छ । बहस आजै सकिने वा नसकिने भन्न नसकिने श्रेस्तेदार ज्ञवालीको भनाइ छ ।

जिल्लवा सरकारी वकिलले लामिछानेसहित २२ जनाविरुद्ध ६ माघमा पूरक अभियोजन दर्ता गराएको थियो । उनीहरुलाई ठगी र संगठित अपराध कसुरको मुद्दा लगाइएको छ ।

सुप्रिम सहकारीमा जम्मा ४२ जना प्रतिवादी भएका छन् । पुरक अभियेजनामा १४ जना प्रतिवादी बनेका छन् । २ करोड रुपैयाँ रवि लामिछानेको नाममा गएको उल्लेख भौचर समेत बरामद भएको थियो ।

यो ऋण १८ चैत २०७७ मा स्वीकृत भएको थियो र ४ लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको भौचर मार्फत जम्मा भएको खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्