
काठमाडौं । नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष ललितबहादुर सिंहमाथि चक्कु प्रहार भएको छ । गएराति करिब ११ः३० बजे सदरमुकाम चैनपुर नजिक रहेको देविस्थान होटलमा बोलाएर विनोद कठायत लगायतको समूहले सिंहमाथि कुटपिट तथा चक्कु प्रहार गरेको हो ।
उनलाई तत्कालै जिल्ला अस्पताल बझाङमा उपचारका लागि लगिएको छ । चक्कु प्रहारबाट निधारमा चोट लागेपछि उनलाई तत्कालै जिल्ला अदालत बझाङ लगिएको थियो । उनको निधारमा तीन टाका लगाइएको छ ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा २९ वर्षीय विनोद कठायत, २६ वर्षीय शितल कठायत र २८ वर्षीय नरेश द्वाल रहेका छन् ।
उनीहरुलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको बझाङका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए । प्रारम्भिक अनुसन्धानमा अभियुक्तहरूले मदिरा सेवन गरेको पाइएको ठगुन्नाले बताए ।














