काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले भूमिसम्बन्धी अध्यादेश नसच्याइए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

बिहीबार सर्लाहीमा लोसपा नेपालको जिल्ला कार्यसमितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै लोसपाका अध्यक्ष महन्थ ठाकुरले अध्यादेश सच्याइनुपर्ने पार्टीको निर्णय रहेको बताए ।
अध्यक्ष ठाकुरले संघीय सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश मधेस विरोधी रहेको बताए । अध्यादेश कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै उनले अध्यादेश नसच्चिए पार्टी सरकारबाट बाहिरिने बताए ।
त्यस्तै, अध्यक्ष ठाकुरले मधेसका हक, अधिकार र पहिचानको रक्षा गर्न पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्दै आन्दोलनका कार्यक्रमहरू अघि बढाइने चेतावनी पनि दिए ।














