दोलखा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस- नेकपा एमालेको नेतृत्व संविधान संशोधन गर्नेमा नभई च्यातेर जनताका अधिकार उल्ट्याउनमा केन्द्रित रहेको आरोप लगाएका छन् ।

३०औं जनयुद्ध दिवस तथा माओवादी केन्द्र जिरी नगरपालिका दोलखाको तेस्रो अधिवेशन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले एमाले नेतृत्व र कांग्रेसका एकथरिले संविधानको प्रस्तावना र धारा उपधारामा माओवादी नै माओवादी देख्ने गरेको बताए ।
उनले भने, ‘एमाले नेतृत्व र कांग्रेसका एकथरिले संविधानको प्रस्तावना र धारा उपधारामा माओवादी नै माओवादी देख्ने गरेका छन् । महिला, दलित, जनजाति, मधेशी, मुश्लिम, थारु आदि उत्पीडित समुदाय र क्षेत्रले पाएको अधिकार बढी भएको ठानेका छन्, त्यसैले उनीहरु संविधान संशोधन होइन, कुनै पनि बहाना गरेर यो संविधान उल्ट्याउन चाहन्छन् ।’
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले दुई-दुई पटक संविधान मिचेर संसद विघटन गरेको घटना यसकै उपज रहेको स्मरण गराउँदै अहिले पनि यो प्रवृत्ति र प्रयास नरोकिएको बताए ।
‘अहिले उनीहरुले चारैतिर घेरा हालेर संविधान च्यात्ने र जनताले पाएको अधिकार खोस्न खोजिरहेका छन् तर हामी भने यसलाई अझै समृद्ध बनाउन र जनताका अधिकार थप्न चाहन्छौं’, उनले भने, ‘प्रतिक्रियावादीहरुको षड्यन्त्र विरुद्ध जनतालाई एकताबद्ध गरेर संविधानको रक्षा र थप अधिकार सुनिश्चित गर्न चाहन्छौं ।’














