Logo
Logo

भारतमा नेपाली विद्यार्थीको शंकास्पद मृत्यु, नेपालीलाई कुट्दै निकाल्यो, संसदमा बोल्न दिइएन !


1.9k
Shares

काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत् एक जना नेपाली विद्यार्थी होस्टेलमा मृत अवस्थामा भेटिएकी छन् ।

ओडिसाको भुवनेश्वरस्थित कलेजको होस्टेलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी हुन् । कलेजले उनले आत्महत्या गरेको भन्दै विज्ञप्ति जारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

‘उनी केआईआईटीमै अध्ययनरत एक विद्यार्थीसँग प्रेम सम्बन्धमा थिइन् भन्ने शंका छ’, समाचारमा विज्ञप्ति उल्लेख गर्दै भनिएको छ, ‘त्यहीसँग सम्बन्धित केही कारणले आत्महत्या गरेको हुनसक्छ ।’

तर, ओडिसाको पत्रिका संवादको अंग्रेजी संस्करणले भने उनी आफ्नो पुरुष साथीबाट दुर्व्यवहारमा परेको उल्लेख गर्दै मृत्युको यकिन कारण खुलिनसकेको उल्लेख गरेको छ ।

न्याय माग्दा दमन

मृत भेटिएकी नेपाली विद्यार्थीको न्यायको माग गर्दै प्रदर्शन गरेकाहरूमाथि कलेज प्रशासनले दमन गरेको छ । विश्वविद्यालयले नेपाली विद्यार्थीलाई कुट्दै होस्टेलबाट निकालेको छ।

कलेजको होस्टेलमा मृत अवस्थामा फेला परेकी बुटवलकी प्रकृति लम्सालबारे गम्भीरतापूर्वक अनुसन्धान गर्न माग गर्दै प्रदर्शन गरेका नेपालीहरूलाई उल्टै कलेजबाट निकालिएको विद्यार्थीहरूले जनाएको छन् । 

विद्यार्थी भन्छन्, ‘हामी विश्वविद्यालयमा छौँ। विश्वविद्यालयले नेपाली विद्यार्थीलाई बाहिर निकालेका छन्। विद्यार्थीहरूलाई कुट्दै निकालेका छन्। करिब ७ देखि ८ सय नेपाली विद्यार्थीहरूलाई होस्टेलबाट कुट्दै बाहिर निकालिएको छ। विश्वविद्यालयले सबै नेपाली विद्यार्थीलाई ससपेन्ड गरिदिएको छ।’

संसद्मा बोल्न दिइएन

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सोमबारको प्रतिनिधिसभा बैठक बहिस्कार गरेकी छन् । बैठकको आकस्मिक समयमा बोल्नका लागि समय मागेकी उनलाई सभामुखले बोल्न समय नदिएपछि बैठक बहिष्कार गर्दै बाहिरिइन् । 

संसदको बैठकको कारबाही सुरु गरेपछि ढ्यापढ्याप गरेर समय मागेकी उनलाई सभामुख देवराज घिमिरेले समय दिएनन् । ‘सभामुख महोदय, मैले पनि समय मागेको थिएँ । नेपाली विद्यार्थी भारतको…’ बोल्दै गर्दा सभामुख घिमिरेले सांसद श्रेष्ठलाई आफूले बोल्न समय नदिएको भन्दै संसद् नियमावलीसमेत स्मरण गराए । 

‘समय पाए बोल्नुहोला नपाए नियमको पालना गर्नुपर्छ भन्ने कुरा ख्याल राख्नुस्….’ सभामुख घिमिरेले भनेका थिए । 

श्रेष्ठले प्रतिवाद गर्नुअघि सभामुख घिमिरेले सरस्वती बजीमय, रघुजी पन्त, रामकुमार राई, अशोककुमार चौधरी, वीरेन्द्रप्रसाद महतो, सीताकुमारी राना, सूर्यबहादुर थापा र सम्झना थपलियालाई बोल्न समय दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्