Logo
Logo

केआईआईटी विश्वविद्यालय घटनाका विषयमा कूटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री


1.1k
Shares

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा भएको घटनाका विषयमा आवश्यक कूटनीतिक पहल भइरहेको बताएका छन् ।

सो विश्वविद्यालयको छात्राबासमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको र त्यसपछि नेपाली विद्यार्थीमाथि भएको व्यवहारका सन्दर्भमा आफूले आज बिहानदेखि नै सम्पर्कमा रहेर आवश्यक कूटनीतिक पहल थालेको उनले बताएका हुन् ।

एक औपचारिक कार्यक्रमका लागि हाल ओमनमा रहेका मन्त्री डा देउवाले यससम्बन्धी समाचार आएपछि विषयलाई गम्भीर रूपमा लिएर आज बिहानदेखि नै कूटनीतिक पहल सुरु गरेको उनको सचिवालयले राससलाई जानकारी दिएको हो ।

मन्त्री देउवाले सम्बद्ध पक्षसँग सम्पर्कमा रहनुका साथै आफूले भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्मालाई घटनाको वास्तविकता बुझेर नेपाली विद्यार्थीको समस्याबारे आवश्यक तत्परता लिइ काम गर्न निर्देशन दिएकोसमेत जानकारी दिइएको छ ।

सोहीबमोजिम राजदूत डा शर्माले काम गरिरहनुभएको र केहीबेरअघि नेपाली दूतावास नयाँ दिल्लीले विज्ञप्ति पनि प्रकाशन गरिसकेको उनले बताए । ‘यसका साथै आज अपराह्न नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग नेपाली विद्यार्थीको सुरक्षाको वातावरणका लागि फोनमा कुरा गरेको छु । उहाँले पनि यसका लागि आवश्यक पहल र समन्वय गरिरहेको जानकारी दिनुभएको छ । यस विषयमा परराष्ट्र मन्त्रालयले आवश्यक तत्परताका साथ काम गरिरहेको छ र मन्त्रालयले पछिल्लो अवस्थाबारे जानकारी पनि गराउने छ’, मन्त्री देउवालाई उद्धृत गर्दै उनको सचिवालले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्