
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को आजका लागि तय भएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । पार्टी पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सह इन्चार्ज विदुर सापकोटाको निधन भएपछि आजका तय भएको बैठक स्थगित गरिएको हो ।
उपमहासचिव रामकुरमार भट्टराईले आज बिहान ११ बजेबाट सुरु हुने तय भएको बैठक भोलि (शुक्रबार) बस्नेगरी स्थगित गरिएको जानकारी दिए । सापकोटाको आज बिहान ५९ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो । बैठकका लागि ९ वटा कार्यसूची तय गरिएको छ ।
केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दसौं राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजना, संसदमा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरू रहेका छन् ।














