काठमाडौं । प्यालेस्टिनी विद्रोही समूह हमासले आज अर्थात् बिहीबार एक नौ महिने बच्चासहित ४ इजरायली बन्धकहरूको शव फिर्ता गर्ने जनाएको छ । यसमा शिरी बिबास र उनका २ छोराछोरी एरियल बिबास र केफिर बिबास समावेश छन् । चौथो शव ओडेड लिफशिट्ज नामक बन्धकको रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

समाचारमा बताइएअनुसार ७ अक्टोबर २०२३ मा हमासले उनीहरूलाई बन्धक बनाउँदा एरियल ४ वर्षका थिए भने केफिर ९ महिनाका मात्र थिए । बच्चाहरूको बुबा, यार्डेन यस महिनाको सुरुमा रिहा भएका थिए।
साथै, हमासले शनिबार ६ जना बन्धकहरूलाई रिहा गरेको जनाएको छ । यो पहिले तोकिएको संख्याको दोब्बर हो । शनिबार रिहा गरिएका बन्धकहरूको बदलामा इजरायलले अक्टोबर २०२३ देखि पक्राउ परेका १९ वर्ष मुनिका सबै महिला र प्यालेस्टिनीहरूलाई रिहा गर्नेछ ।
रोयर्टसले उल्लेख गरेअनुसार केफिरलाई बन्दी बनाइँदा उनी केवल ९ महिनाका थिए । त्यतिबेला उनी हमासद्वारा बन्धक बनाइएका सबैभन्दा कान्छा व्यक्ति थिए । हमासले नोभेम्बर २०२३ शिरी र उनका दुई बच्चाहरू इजरायली बम विस्फोटमा मारिएको दावी गरेको थियो । त्यसबारे हमासले एउटा भिडियो समेत जारी गरेको थियो ।
भिडियोमा यार्डेन बिबासले इजरायली प्रधानमन्त्री नेतान्याहूलाई आफ्नो परिवारका सदस्यहरूको मृत्युको दोषी बताएका थिए । यद्यपि, इजरायलले हमासको यो दाबीलाई स्वीकार गरेको छैन । इजरायल र प्यालेस्टाइनबीच कैदी आदानप्रदानको यो सम्झौता तीन चरणमा सम्पन्न हुनेछ । यसमा ४२ दिनको लागि बन्धकहरूको आदानप्रदान गरिनेछ ।










