
भक्तपुर । भक्तपुरमा तीन मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । गएराति सूर्यविनायक नगरपालिका–९ नलिञ्चोकमा विपरीत दिशाबाट आएका तीन मोटरसाइकल ठोक्किँदा रामेछाप सुनापाति गाउँपालिका–४ का २१ वर्षीय तिम्बा दोर्जे तामाङको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनको इवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भक्तपुर जिल्ला ट्राफिक प्रहरी परिसरले जनाएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।
घाइतेमध्ये सूर्यविनायक नगरपालिका–९ काक्राबारीका २४ वर्षीय साजन तामाङको अवस्था गम्भीर छ । उनको ठिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अर्का घाइते भएका रामेछाप मन्थली नगरपालिका–११ का ३९ वर्षीय टीकाराम श्रेष्ठ भने सामान्य उपचारपछि घर फर्केका छन् ।














