
काठमाडौं । सर्वोच्च अदालतले ललितपुरका सेन्ट जेभियर्स र सेन्ट मेरिज स्कुललाई गोलाप्रथाबाट विद्यार्थी भर्ना गर्नुको कारण खुलाउन आदेश दिएको छ ।
अधिवक्ता सुजाता केसीले गोलाप्रथा खारेज गरी योग्यता प्रणालीका आधारमा भर्ना लिनुपर्ने मागसहित दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदीको इजलासले गोलाप्रथाबाट विद्यार्थी भर्ना गर्नुको कारण खुलाएर लिखित जवाफ पेस गर्न स्कुलका नाममा आदेश जारी गरेको हो ।
रिटमा सेन्ट जेभियर्स स्कुल, सेन्ट मेरिज स्कुल, ललितपुर महानगरपालिका, महानगरको शिक्षा शाखा, सामाजिक विकास मन्त्रालय, बागमती प्रदेश र शिक्षा तथा खेलकुद मन्त्रालयलाई रिटमा विपक्षी बनाइएको छ । ती विपक्षीहरूको जवाफ प्राप्त भएपछि यस रिटमा अदालतले थप सुनुवाइ अघि बढाउनेछ ।
भर्ना हुन चाहने विद्यार्थीको चाप उच्च रहेका यी स्कुलमा विभिन्न शक्तिशाली व्यक्तिको भनसुनमा मात्र भर्ना पाउने भन्दै आलोचना हुँदै आएका थिए । सूचना निकालेर गोलाप्रथाबाट भर्ना लिँदा यसले विद्यार्थीको शैक्षिक क्षमता, सिर्जनात्मकता तथा योग्यताको परीक्षण नगर्ने दाबी गरिएको छ । यसबाट विद्यार्थीको भविष्यमाथि पनि खेलबाड हुने र शिक्षाको मूल मर्मविपरीत भएकाले यो प्रथा हटाउनुपर्ने रिटमा माग गरिएको छ ।














