काठमाडौं । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को मिनी अक्सन सम्पन्न भएको छ । शनिबार काठमाडौंमा भएको मिनी अक्सनबाट लिगमा सहभागी हुने सात टिम करिब तयार भएको छ ।

यही चैत्र महिनामा हुने प्रतियोगितामा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, धनगढी एफसी, झापा एफसी, एफसी चितवन, पोखरा थन्डर्स र बुटवल–लुम्बिनी सहभागी हुँदैछन् ।
अक्सनमा क्याटेगोरी ‘ए’ मा १५ जना र क्याटगरी ‘बी’ मा ४५ गरी कुल ६० खेलाडी मात्र अक्सनमा राखिएका थिए । क्याटेगोरी ‘ए’ का खेलाडीको बेस प्राइस २ लाख र म्याक्सिमम प्राइस ४ लाख रुपैयाँ तोकिएको थियो भने त्यस्तै क्याटेगोरी ‘बी’ को बेस प्राइस १ लाख ५० हजार र म्याक्सिमम प्राइस २ लाख रुपैयाँ तोकिएको थियो ।
मिनी अक्सनमा आठ खेलाडी सर्वाधिक चार लाख रुपैयाँमा बिक्री भएका छन् । जसमा मणिकुमार लामा, अभिषेक लिम्बू, सुमित श्रेष्ठ, पासाङ लामा, आशिष गुरुङ, दिनेश हेम्जन, जेलेस्पीजंग कार्की र सन्तोष कार्की रहेका छन् ।
अक्सनमा केही नाम चलेका खेलाडीहरू बिक्री भएनन् । मिनी अक्सनसँगै अब विदेशी खेलाडी र स्थानीय खेलाडी छनोट हुन बाकी रहेको बताइएको छ ।














