काठमाडौं । नेपाल वायुसेवा निगमको न्यारोबडी विमान शनिबारदेखि साउदी अरबको दमामस्थित किङ फाहद इन्टरनेसनल एयरपोर्टमा थन्किएको छ ।
१ सय २५ यात्रु राखेर काठमाडौं फर्किने तरखरमा रहेको विमानको अगाडिको पाङ्ग्रा रहेको नोज ल्यान्डिङ गियर बिग्रिएको हो । यो विमान आइतबार बिहान काठमाडौं फर्किसक्नुपर्ने तालिका थियो । तर मर्मत हुन नसकेकाले सबै यात्रुलाई होटलमा राखिएको छ ।

विमान उतै रोकिएपछि निगमले आइतबार रातिका लागि तोकेका मलेसिया, दुबई र जापानको उडान प्रभावित हुने पाइलटहरुले जनाएका छन् ।
यो न्यारोबडी बिहीबार बिग्रिएपछि मलेसियामा थन्किएको थियो । मर्मतपछि शनिबार बेलुकी मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । शनिबार राति १ सय ९ यात्रु लिएर दमाम पुगेपछि विमानमा पुनः समस्या देखिएको हो ।














