
काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)की इन्स्पेक्टर सन्तोषी महत आत्महत्या घटनामा कास्की प्रहरीमा किटानी जाहेरी परेको छ ।
ब्यारेकमै झुन्डिएको अवस्थामा शनिबार राति मृत भेटिएकी इन्स्पेक्टर महतको परिवारले आत्महत्या दुरुत्साहन मुद्दामा अर्का सिनियर इन्स्पेक्टर विवेक जोशीविरुद्ध जाहेरी दिएका हुन् ।
१६ बेसिकका ती इन्स्पेक्टर र १७ बेसिककी महत प्रेमीप्रेमीका रहेको परिवारको दाबी छ । उनैका कारण महतले आत्महत्या गर्नु परेको जाहेरीमा दाबी गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्याामबाबु ओलियाले जाहेरी आएको बताए । उनले अब ती इन्स्पेक्टरविरुद्ध पक्राउ पुर्जी लिएर अनुसन्धान अघि बढाइने बताए ।
यता सशस्त्र प्रहरी हेडक्वाटरले पनि घटनाको छानबिन गर्न समिति गठन गरेको छ । राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।














