Logo
Logo

भूराजनीतिक बदलावले राष्ट्रिय सुरक्षामा चुनौती


567
Shares

काठमाडौं । नेपाली सेनाले भोलि बुधवार २६२औँ स्थापना दिवस मनाउँदै छ । सेनाले दिवस मनाइरहँदा मुलुकभित्र र बाहिर उत्पन्न पछिल्लो परिस्थितिबारे मूल्याङ्कन गर्ने, आफ्ना युनिटहरूमा छलफल गर्ने र अधिकृत तथा उच्च तहमा त्यसको प्रभाव र असरबारे जानकारी दिने गरेको छ ।

यसवर्ष पनि सेनाले पृतनापतिहरूलाई काठमाडौँमा बोलाएर भूराजनीतिक बदलावले राष्ट्रिय सुरक्षामा चुनौती आएको विषयमा गम्भीर समीक्षा गरेको छ । सेना दिवसको अवसरमा पृतनापतिहरूको सम्मेलन गर्दै अन्तर्राष्ट्रिय र क्षेत्रीय भूराजनीतिक बदलावले राष्ट्रिय सुरक्षामा चुनौती थपिएकाले चुनौती सामना गर्न ‘नयाँ रणनीति’ बनाएर अघि बढ्नुपर्ने र राज्यका निकायहरू बिच समन्वय हुनुपर्नेमा जोड दिइएको छ ।

सेनाले कोसी प्रदेशभित्र पहिचानको नाममा भइरहेको आन्दोलनलाई गम्भीरतापूर्वक लिन सबै यूनिटलाई आग्रह गरिसकेको छ । ‘सेनाले नेपालमा राजनीति गर्दैन, तर कोसी प्रदेशमा धर्म र जातको नाममा जे जस्तो अवस्था जटिल बनाइदैछ, निश्चय पनि त्यो हाम्रो नोटिसमा रहेको छ’, सेना दिवसको सन्दर्भमा आयोजित उच्च अधिकृतहरूको सम्मेलनमा भाग लिन आएका एक अधिकृतले दृष्टिसँग भने ।

मुलुकलाई अखण्ड राख्ने दायित्व भएकाले यस्ता विषयमा सेनाको ध्यान जानु स्वाभाविक रहेको ती अधिकृतको दाबी छ । त्यतिमात्र होइन सेनाले विश्व राजनीतिमा आएको बद्लावलाई समेत ध्यान दिएर विविध सन्दर्भमा छलफल गरेको छ । पृतनापति सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिदेखि मुलुकभित्र रहेका संघीय, क्षेत्रीय गतिविधिबारे समेत छलफल भएको छ । 

सैनिक मुख्यालय जंगी अड्डामा दुईदिने पृतनापति समन्वयात्मक सम्मेलनमा प्रधानसेनापति अशोकराज सिग्देलले अहिलेको विश्व सुरक्षा परिस्थिति बहुआयामिक दृष्टिकोणले थप संवेदनशील, जटिल र अन्योलपूर्ण बन्दै गएको निष्कर्ष सुनाए । विशेषतः अमेरिकामा राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै उनले लिएको नीतिका कारण विभिन्न राष्ट्रहरू प्रभावित भएको सन्दर्भतर्फ संकेत गर्दै सेनापतिको निष्कर्ष आएको हो । 

‘ट्रम्पको आगमनपछि अमेरिकाको आर्थिक सहायतासम्बन्धी निकाय यूएसएआईडी बन्द भएको छ, लामो विवादपछि अघि बढेको अमेरिकी सहायता परियोजना एमसीसी पनि रोकिएको छ’, सम्मेलनमा सहभागी एक उपरथीले भने ‘यस्तोमा सामाजिक र आर्थिक रूपमा मुलुकको विभिन्न क्षेत्रमा असर पुग्ने निश्चित छ, त्यसको गम्भीर समीक्षा गरेर उपयुक्त रणनीति अपनाउनु पर्छ ।’
यस्तो अवस्थामा आन्तरिक र बाह्य परिस्थितिमा आउन सक्ने उतारचढावले नयाँ प्रकृतिका सुरक्षा चुनौती सिर्जना हुन सक्ने र त्यसलाई सामना गर्न सबै पक्षबिच समन्वयात्मक ढंगले काम गर्नुपर्ने आवश्यकता सेनाले औँल्याएको छ । 

भूराजनीतिक परिस्थितिका विषयमा समेत समीक्षा गर्दै सेनाले सुरक्षा प्रतिवेदन तयार गर्नेछ । ‘डोनाल्ड ट्रम्पले शासन सत्ता सम्हालेपछि अमेरिकाले यूएसएआईडी, एमसीसीलगायतबाट आउने अनुदान हाललाई स्थगन गरेको छ । यसले नेपालको कुन क्षेत्रलाई कुन रूपमा असर पारेको छ भनेर गहन विश्लेषण गरी मुलुकले आगामी रणनीति बनाउनुपर्ने सेनाले जनाएको छ ।
भूराजनीतिमा आएको बदलावका कारण सरकारले वार्षिक बजेट प्रणालीभित्रैबाट तय गरेका कार्यक्रममा पनि असर पर्ने भएकाले समग्र राष्ट्रिय हितको दृष्टिकोणबाट समेत कस्तो रणनीति अपनाउने भन्नेमा सम्मेलनले मार्गचित्र तय गर्ने उनको भनाइ छ । 

सम्मेलनमा सहभागी अर्का उच्च सैनिक अधिकृतले पछिल्लो समय देशभित्रै आआफ्नो माग राखेर विभिन्न पक्ष आन्दोलित भएको अवस्थाको पनि समीक्षा गरिएको छ । ‘अहिले पाथीभरामा केबलकार बनाउन हुने–नहुने भनेर पक्ष÷विपक्षमा गतिविधि भइरहेको छ, यसको पृष्ठभूमि कोसी नामाकरणसँगै गएर जोडिन्छ,’ उनले भने, ‘यस विषयलाई शान्तिपूर्ण र सर्वस्वीकार्य नबनाउने हो भने राष्ट्रिय सुरक्षामा प्रतिकूल असर पुग्ने गरी अघि बढ्न सक्छ ।

मधेशमा ‘राज्यको मूल प्रवाहमा आफ्नो पहुँच र उपस्थिति कमजोर’ देखिएको अनुभूति गर्ने पक्षका मागमा पनि उचित सम्बोधन आवश्यक रहेको ती अधिकृतले बताए । मुलुकभित्र र बाहिरको सन्दर्भलाई लिएर सेनाको इन्टेलिजेन्स व्यूरोले चार्ट बनाएर प्रस्तुति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्