काठमाडौं । नेपाल फाइनान्सियल टास्क फोर्स (एफएटीएफ)ले ‘ग्रे लिस्ट’मा राखेपछि राष्ट्र बैंकले गाडी चढ्नेमाथी निगरानी बढाएको छ । राष्ट्र बैंकले गाडीको कर्जा प्रवाह गर्ने हायर पर्चेज कम्पनीलाई नयाँ सर्कुलर जारी गर्दै ग्राहक परिचानमा कडाई गरेको हो ।

राष्ट्र बैंकले सर्कुलरमार्फत सूचिकृत व्यक्ति पहिचान सम्बन्धमा नयाँ व्यवस्था गरेको हो । जसमा ‘ऐनको परिच्छेद ६ ख. बमोजिम प्रकाशन गरिएको सूची तथा नियमावलीको नियम ६९ बमोजिम गृह मन्त्रालयले विभिन्न माध्यमबाट उपलब्ध गराएको व्यक्ति, समूह वा संगठनको सूची वा सो सँग सम्बद्ध कुनै व्यक्ति, समूह वा संगठनसँग आफ्नो कारोबार भए, नभएको नियमितरुपमा यकिन गरी आदेशानुसारको कार्य गर्नु पर्नेछ’ भनेको छ ।
राष्ट्र बैंक यस्तो सर्कुलरसँगै अब गृह मन्त्रालय हत्यारा, फरार, सम्पति शुद्धिकरणमा मुद्दा खेपेका, समाजमा चोरी दादागिरी गर्नेहरुसँग कारोबार नाता सम्बन्ध राख्ने व्यक्तिले समेत गाडी कर्जा लिन पाउने छैन । यसअघि राष्ट्र बैंकले हायर पर्चेज कम्पनीलाई सर्कुलर जारी गर्दै अरुको नाममा गाडी खरिद गरेर चढ्न नपाउने नियम बनाएको थियो ।
यस्तै, नागरिकताको साटो राष्ट्रिय परिचय पत्रको आधारमा पनि गाडी कर्जा दिन सकिने व्यवस्था गरेको छ । कम्पनीहरुले उच्च पदस्थ व्यक्तिहरुको वर्गिकरण पनि नयाँ तरिकाबाट गर्नुपर्ने भएको छ ।
कम्पनीले उच्च पदस्थ व्यक्तिको वर्गीकरण गर्दा पदमा बहाल रहेका उच्च पदस्थ व्यक्ति, पदमा बहाल नरहेका उच्च पदस्थ व्यक्ति, छिमेकी वा नजिकका मुलुकको विदेशी उच्च पदस्थ व्यक्ति, अन्य विदेशी उच्च पदस्थ व्यक्ति, अन्तर्राष्ट्रिय संस्थाको उच्च पदस्थ व्यक्ति छुट्याउनु पर्नेछ ।
कम्पनीले आफ्नो ग्राहक उच्च पदस्थ व्यक्तिका परिवार वा नजिकको सम्बन्ध भएका व्यक्ति भए नभएको यकिन गर्न आफूसँग ग्राहकबाट प्राप्त जानकारी तथा बुँदा नं. (१) बमोजिम बनाइएको संयन्त्र प्रयोग गर्नुपर्नेछ । यदी कम्पनीले शंकास्पद व्यक्ति भेटेमा राष्ट्र बैंकलाई प्रतिवेदन बसझाउनुपर्छ ।
संस्थाले शंकास्पद कारोबारको प्रतिवेदन पठाउँदा त्यस्तो संस्थाको कार्यान्वयन अधिकारीको एकाघर परिवार वा नजिकको नातेदार को विवरण पठाउनुपर्ने भएमा निज बाहेक अन्य अधिकारीबाट प्रतिवेदन पठाउने व्यवस्था मिलाउनुपर्नेछ ।














