Logo
Logo

प्रचण्डमा निरासा र छटपटाहाट देखिन थालेको छ : शंकर पोखरेल


945
Shares

काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादीको सहयोगमा नेपाली कांग्रेस र नेकपा एमाले ठूला दल भए भन्नु हाँस्यास्पद तर्क रहेको बताएका छन् ।

बुधवार फेसबुकमा एक स्टाटस राख्दै भनेका छन्- ‘नेकपा एमाले र नेपाली कांग्रेसको सहयोगमा सत्ता समीकरणको कथित म्याजिक नम्बर पाउन सफल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ती दलहरूको सहयोग नपाउने भएपछि आफ्नो सहयोगमा ती दल ठूला भएको हाँस्यास्पद दाबी गरेछन्, वास्तवमा सरकारको नेतृत्वमा रहँदा पुष्पकमल दाहाल प्रचण्डले अवलम्बन गरेको अस्थिर र स्वार्थपरक नीति तथा द्वैध चरित्रका कारणले माओवादी आन्दोलनले कार्यकर्ताको विश्वास र जनताको जनादेश गुमाउन पुगेको हो ।’ जुन क्रम निरन्तर जारी रहेको उनले लेखेका छन् ।

‘त्यसको हेक्का भएर नै प्रचण्डमा यति वेला तीव्र निराशा र छटपटाहट देखिन थालेको छ,’ उनले अगाडि लेखेका छन्। नेपालको राजनीतिलाई विकास र समृद्धिका लागि राजनीतिक अस्थिरताको दुष्चक्रबाट मुलुकलाई बाहिर निकाल्ने हो भने राजनीतिक ध्रुवीकरणको बाटोमा जानु आवश्यक रहेको महासचिव पोखरेलले लेखेका छन्। ‘त्यसका लागि अब आउने चुनावमा सबै राजनीतिक दलले गठबन्धन विना आफ्नो नीति तथा कार्यक्रमका आधारमा जनतामा जाने आँट गर्नु पर्दछ,’ उनले लेखेका छन् ।

यस्तो भएमा ‘कथित म्याजिक नम्बर’ को नाममा साना दलले ठुला दलहरूमाथि शासन गर्ने स्थिति अन्त्य हुने पोखरेलको दाबी छ । यसअघि मंगलबार माओवादी अध्यक्ष दाहालले माओवादीले सहकार्यको राजनीति गर्दा घाटा भएको दाबी गर्दै त्यो सहकार्यबाट कहिले कांग्रेस, कहिले एमाले ठूलो भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्