
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा मन्त्रालयमा स्पष्टीकरण बुझाएका छन् ।
मन्त्रालयले बुधबार सोधको २४ घण्टे स्पष्टीकरण बुझाउँदै कुलमानले आफूमाथि स्पष्टीकरण सोध्ने अधिकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई नभएको बताएका छन् ।
उनले आफूलाई यसअघि सोधिएको स्पष्टीकरण के कति कारण चित्तबुझ्दो भएन ? भन्दै उल्टै प्रश्नसमेत गरेका छन् ।स्पष्टीकरणमा आधार र कारण नखुलेकाले थप पुस्ट्याइँ पेस गर्ने अवस्था नरहेको उनको भनाइ छ ।
यस्तै, घिसिङले आफूमाथि लगाइएका सबै आरोप मनोगत रहेको उनले उल्लेख गरेका छन् । ‘मेरो नियुक्तिश्चात् प्रगतिको सूचकांकले सबै प्रगति उजागर गर्छ । तसर्थ आत्मगत रुपमा जवाफ चित्तबुझ्दो नभएको भनी पुनः स्पष्टीकरण माग गरिएको कानुन र न्यायको मान्य सिद्धान्त प्रतिकूल छ,’ स्पष्टीकरणमा भनिएको छ ।
गत पुस २८ मा घिसिङले बुझाएको स्पष्टीकरण चित्त नबुझेको भन्दै ऊर्जामन्त्री दीपक खड्काले मन्त्रीस्तरीय निर्णय गर्दै पदबाट किन नहटाउने भन्दै दुईबुँदे स्पष्टीकरण सोधेका थिए । घिसिङले आज मन्त्रालयमा स्पष्टीकरण बुझाएका हुन् ।














