
काठमाडौं । इटालियन लेजेन्ड जियानलुइजी बुफोन नेपाल आउने भएका छन् । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भइरहेको ‘केपी ओली कप’ फुटबल हेर्न उनी आइतबार नेपाल आउन लागेका हुन् ।
उनले आफु केपी ओली कपको फाइनल खेलमा चिफ गेस्टको रुपमा उपस्थित हुन नेपाल आउन लागेको भन्दै भिडियो सन्देश पठाएका छन् ।
उनले भिडियोमा नेपालीमै सम्बोधन गर्दै भनेका छन्, ‘नमस्ते सबैजनालाई । जिजी बुफोन हेयर । म मार्च पहिलो साता केपी ओली कपको फाइनलको चिफ गेस्टको रुपमा आउँदछु । सबेलाई त्यहाँ भेटौँला ।’
सन् २००६ मा फ्रान्सलाई हराएर फिफा विश्वकप जितेका बफोनले कीर्तिमानी १७६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनी सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने गोलकिपर हुन् । १७६ अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरेका उनले इटलीका लागि ८० खेलमा कप्तानी समेत गरेका थिए ।
सन् १९९७ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका बफोनले सन् २०१८ मा सन्न्यास लिएका थिए । व्यावसायिक फुटबलबाट भने सन् २०२३ मा सन्न्यास लिएका थिए ।














