
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झाको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । सुनुवाइका लागि न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासमा पेशी तोकिएको छ ।
भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपमा झा गएको असार ५ गते कञ्चनपुरबाट पक्राउ परेका थिए । काठमाडौँ जिल्ला अदालतको आदेशले थुनामा रहेका झा उच्च अदालत पाटन हुँदै सर्वोच्च अदालत पुगेका थिए ।
झा पूरक अभियोगपत्रबाट शरणार्थी प्रकरणमा जोडिएका थिए भने पहिलो अभियोग पत्र दायर हुनुअघि भएको अनुसन्धानमा फरार रहेका थिए । पछि कञ्चनपुरबाट पक्राउ गरी ल्याउँदै सरकारले जिल्ला अदालत काठमाडौँमा पूरक अभियोग पत्र दर्ता गराएको थियो ।
उक्त अभियोगमा जिल्लाले पुर्पक्षका लागि थुनामा पठाएको थियो । त्यसविरुद्ध झा सुरुमा उच्च अदालत पाटन पुगे । पाटनले पनि जिल्लाकै सदर गरेपछि उनी माघ २ गते सर्वोच्च अदालत पुगेका थिए ।
झाले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका छन् । झाको हकमा माघ ३ गते पहिलो सुनुवाइ हुँदै सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको थियो ।














