
काठमाडौं । थापाथली चोकमा आज बिहान मेलम्चीको पाइप फुटेको छ । थापाथली चोकबाट नर्भिक अस्पतालतर्फ मोडिने ठाउँमा खानेपानीको पाइप फुटेको हो ।
पाइप फुटेपछि ठूलो फोर्समा पानी बाहिर निस्किँदा सडक भत्किएको छ । सडकपेटीमा पनि क्षति पुगेको छ । वरपरका पसलहरुमा पानीको भेल पसेको छ । सो क्षेत्रमा रहेको रेष्टुरेन्ट, औषधि र फलफूल पसलहरुमा पानीको भेल पसेर जलमग्न भएको छ ।
यसअघि पनि बबरमहल क्षेत्रमा खानेपानीको मुख्य पाइप लाइन फुट्दा बाढी आएको थियो । त्यस क्षेत्रका सरकारी कार्यालयहरू डुबानमा परेका थिए ।
बबरमहल क्षेत्रको सडकमा नेपाल विद्युत् प्राधिकरणले बिजुलीको भूमिगत तार बिछ्याउने क्रममा मेलम्चीको ठूलो पाइपमा क्षति पुगेको थियो । अर्को दिन नै पाइप मर्मत गरिएको थियो ।














