
काठमाडौं । लोकतन्त्र आएको करिब १९ वर्षपछि राजावादीहरू उत्साहित भएका छन् । फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र र जनताको नाममा सन्देश प्रवाह गर्दा पूर्व राजावादीहरू उत्साहित देखिए । त्यसयता उनीहरू निरन्तर सडकमा चलमलाएका छन् भने नारायणहिटी अगाडि प्रदर्शन गरिरहेका छन् ।
राजा फर्काउने अभियानका लागेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र त्यससँग सामिप्यता राख्ने दल र व्यक्तिहरू उत्साहित देखिएका छन् । राजाको नाममा उनीहरूले निरन्तर लोकतन्त्रमाथि प्रहार गरिरहेका छन् ।
राप्रपाका महामन्त्री एवं सांसद डा. धवलशमशेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा प्रजातन्त्र दिवसका अवसरमा जारी सन्देशअनुसार एकजुट हुन आह्वान गरे । विज्ञप्ति जारी गर्दै पार्टीको आन्दोलन परिचालन समितिको संयोजकसमेत रहेका राणाले ज्ञानेन्द्रको आह्वानअनुसार आन्दोलनमा एकतावद्ध भएर लाग्न अपिल गरेका थिए ।
७५औँ प्रजातन्त्र दिवसका अवसरमा एक भिडियो सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले देशको बिग्रँदो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै आफूलाई साथ दिन आग्रह गरेका थिए ।
करिब साढे १० मिनेट लामो भिडिओ सन्देशमा उनले यसअघि दिने गरेका सन्देशहरूभन्दा केही भिन्न देखिने गरी आफूलाई ‘साथ दिन’ पनि देशवासीलाई आह्वान गरेका थिए । पूर्वराजा ज्ञानेन्द्रको यो आह्वानलाई राप्रपाले शक्तिमा बदल्ने कोसिस गर्न थालेको छ ।
जनमत खासै नभए पनि कांग्रेस, एमाले, र माओवादीबाट वाक्कदिक्क भएको जनमतलाई आफूतिर तान्ने कोसिसमा राप्रपा लागेको छ । पूर्वराजा ज्ञानेन्द्रले देशको अहिलेको अवस्थाप्रति असन्तुष्टि व्यक्त गरिएको सन्देशको अन्त्यतिर उनले राष्ट्रिय समस्या सुल्झियोस् भनेर आफूले पहिले पनि त्याग गरेको र अब पनि त्याग गर्न तयार रहेको जनाएका थिए ।
‘देशका निम्ति, राष्ट्रका खातिर हाम्रो समर्पण, निष्ठा सदैव हुने छ । राष्ट्र रक्षाको निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनु पर्दछ । हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ । अब नेपालको उन्नतिका लागि हामीबाट अरू केके त्याग गर्नुपर्ने हो हामी तयार छौँ । अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौँ’, पूर्व राजा ज्ञानेन्द्रले भनेका थिए ।
ज्ञानेन्द्रको अभिव्यक्तिका कारण, कांग्रेस, एमाले र माओवादीसहितका दलहरू लोकतन्त्रको मामिलामा एकजुट हुन थालेका हुन् । लोकतन्त्रका पक्षधर कतिपय नेताहरूले कडा प्रतिक्रिया दिएर ज्ञानेन्द्रलाई नागार्जुनबाट पनि बाहिर राख्न नपरोस् भनेका छन् ।
प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली त पूर्वराजालाई चुनाव लड्न चुनौती समेत दिएका छन् । उनले भनेका छन्– ‘छाया सारेर होइन लोकप्रिय हुनुहुन्छ भने आफूलाई अगाडि सर्नुस् न चुनाव लड्नुस जहाँ पनि चुनाव लड्न खुला छँदै छ, पार्टी खोल्नुस् खुलेको पार्टीलाई मेरो भन्नुस् । अलि अलि अलि टाउको निकाल्ने निकाल्ने जस्तो गर्ने अनि अफ्टयारो परेपछि कछुवा तालले टाउको लुकाउने
एमाले सचिव योगेश भट्टराईले नागार्जुनबाट बाहिर पठाउनु नपरोस् भन्दै अभिव्यक्ति दिएका थिए भने रघुजी पन्तले पनि राजालाई हिडडुल गर्न दिएको अधिकारमा बञ्जित गर्न नपरोस् भन्दै चेतावनी दिएका थिए ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एउटा टेलिभिजनसँगको कुराकानीमा शाहको अभिव्यक्ति अहिलेको संविधानअनुसार दण्डित हुने खालको रहेको बताएका थिए । ‘सीमा नाघ्दै गएकाले त्यसलाई गम्भीर रूपमा लिएर सरकारले आवश्यक नियन्त्रण गर्नुपर्छ’, भट्टराईले भनेका थिए ।
पूर्व प्रधानमन्त्रीको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि राजसंस्था पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले भिडिओ सन्देश जारी गर्दै उनको अभिव्यक्तिलाई ‘तुच्छ’ भनेका छन् । एउटा सूत्र प्रयोग गरेर पहिलो संविधानसभाको चुनावअगाडि ‘सांस्कृतिक राजा राख्न चाहेको’दाबी पनि मिश्रले गरेका थिए ।
उता नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बहस नै गर्नुनपर्ने विषयमा भनेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिलाई लिएर विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा थापाले ‘त्यसबारे बहस गर्नु नै उपयुक्त नभएको’ बताएका छन् ।
माओवादीका नेताहरूले पनि कडा चेतावनी दिएका छन् । उनीहरुले लोकतान्त्रिक गणतन्त्रको विरुद्ध बोल्ने कुनै अधिकार राजालाई नभएको बताइरहेका छन् । यसरी दलहरू लोकतान्त्रिक गणतन्त्रको मुद्धामा एक रहेका छन् भन्ने सन्देश दिएका छन् । तर पूर्वराजाले अर्को सन्देश जारी गर्ने समय पनि नजिक आइरहेको छ । नयाँ वर्षको अवसरमा उनले अर्को सन्देश जारी गरेर मुलुकमा आफू पुनः उदाउने दिवा सपना देखिरहेका छन् ।
गत वर्ष २०८१ को शुभकामना दिँदै उनले गुणात्मक परिवर्तन हुन नसकेको अमूर्त सन्देश प्रवाह गरेका थिए । ‘नेपालको हालसालको इतिहासमा विधि, व्यवस्था, शब्द र रूप जति बदलिए पनि गुणसार तथा अर्थमा कुनै गुणात्मक परिवर्तन हुन सकेको छैन । आज आम नेपालीको चिन्ता यही विषयमा छ,’ उनले भनेका थिए ।
उनले देशको गौरव पनि नबढेको र देशवासीको सुख समृद्धिमा समयबद्ध सुधार नआएको उल्लेख गरेका छन् । ‘जान्ने बुझ्ने बुढापाकाहरू अतीतलाई सम्झेर दिक्दारीमा देखिन्छन् त नयाँ युवा पुस्ता देशमा आफ्ना सुनौलो भविष्य नदेखेर भौँतारिएका छन्’, पूर्व राजा शाहले भनेका थिए– ‘देशको बौद्धिक समाज उदासीन हुँदै जानु र होनहार युवा जनशक्ति पलायन हुँदै जानु, राष्ट्रको उत्थानका निम्ति गम्भीर जोखिमपूर्ण विषय हो । शिक्षा, स्वास्थ्य, इलम, उद्यम, उत्पादन, लगानी, व्यापार, व्यवसाय र रोजगारीको व्यवस्था खस्किँदै जानु आजको विडम्बना हो ।’ उनको यो सन्देशले सामाजिक सञ्जालमा दलहरूप्रति झन् वितृष्ण बढिरहेको देखाइएको छ ।
अहिले फागुन ७ गतेको सन्देशचाहिँ मुखर भएर आएको छ । केही राजावादीहरूले राजा राजनीतिमा फर्कने सन्देश दिइरहेका छन् । राजनीतिक दलहरूले भने निर्वाचनमा आयोगमा पुगेर दल खोल्न सुझाव दिइरहेका छन् । सडकमा केही झुन्डहरू देख्नसाथ उत्साहित भएर ज्ञानेन्द्रले यस्ता अभिव्यक्ति दिँदै गर्दा काँग्रेसको एउटा समूह मौन देखिएको छ ।











